You are viewing the translated version of पृष्ठभूमि.

Section 1
पृष्ठभूमि
सूचना र सञ्चार प्रविधिमा भएको तीव्र विकासले गर्दा आधुनिक विश्व नै एक गाँउ मा रुपान्तरण भएको छ । हालका वर्षहरुमा दिगो विकासका वृहतर लक्ष्य हासिल गर्न अवलम्वन गरिएका रणनीतिहरुको केन्द्रमा सूचना तथा सञ्चार प्रविधि रहदै आएको छ । विश्वव्यापी रुपमा सूचना तथा सञ्चार प्रविधिको बढ्दो प्रयोगले सामाजिक अन्तरकृया तथा सार्वजनिक सेवा तथा सूचना प्रवाहमा आधारभूत परिवर्तन आएको छ । सूचना तथा सञ्चार प्रविधिको प्रयोग मार्फत प्राप्त हुने अन्य लाभका अतिरिक्त, यो प्रविधिको प्रयोगबाट सुशासनको प्रत्याभूत गर्नुका साथै बढि पारदर्शी एवं प्रभावकारी सार्वजनिक व्यवस्थापनको लागि यथेष्ट पूर्वाधार निर्माण गर्न सहज हुने अपेक्षा गरिएको छ । साथै, सूचना प्रविधि र सूचना प्रविधिमा आधारित विभिन्न सेवाहरु लगायत अन्य उद्योग एवं सेवाजन्य व्यवसायको वृद्धिद्वारा वृहत्तर राष्ट्रिय लक्षहरू हासिल गर्नमा समेत यो प्रविधि सहायक हुने देखिएको छ।

सूचना तथा सञ्चार प्रविधिको प्रयोग, निरन्तर विकास एवं गतिशीलताबाट उपयुक्त अवसर संगै नीतिगत चुनौतीहरु पनि सिर्जना भैरहेका छन्‌ भने यस क्षेत्रको गतिशीलतालाई नीतिगत रुपले सम्‌बोधन गर्न देशमा हाल विद्यमान नीतिगत, संस्थागत तथा नियामक व्यवस्था पनि अपर्याप्त देखिएका छन्‌ । समकालीन सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भएको गतिशीलता एवं निरन्तर बिकासद्वारा सिर्जित नीतिगत चुनौती सम्‌वोधन गर्न यो सूचना तथा सञ्चार प्रविधि नीति तर्जुमा गरिएको छ ।