दफा
परिभाषा
: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क)  “अदालत” भन्नाले संविधानको धारा १३७ को उपधारा (१) बमोजिमको सर्वोच्च अदालतको संवैधानिक इजलास सम्झनु पर्छ।
(ख)  “अल्पसङ्ख्यक समुदाय” भन्नाले निर्वाचन हुनुभन्दा तत्काल अगाडि भएको राष्ट्रिय जनगणनाको आधारमा संविधानको धारा ३०६ को उपधारा (१) को खण्ड (क) को अधीनमा रही नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिमका जातीय, भाषिक र धार्मिक समूह सम्झनु      पर्छ ।
(ग)  “आयोग” भन्नाले संविधानको धारा २४५ बमोजिमको निर्वाचन आयोग सम्झनु पर्छ ।
(घ)  “उम्मेदवार” भन्नाले दफा १६ बमोजिम राष्ट्रिय सभाको सदस्यको लागि उम्मेदवारको रुपमा मनोनयन गरिएको व्यक्ति सम्झनु पर्छ।
(ङ)  “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु  पर्छ ।
(च)  “दल” भन्नाले निर्वाचनको प्रयोजनको लागि आयोगमा दर्ता भएको राजनीतिक दल सम्झनु पर्छ र सो शब्दले एकल चुनाव चिन्ह लिई संयुक्त रुपमा निर्वाचनमा सहभागी हुने दलहरुको समूहलाई समेत जनाउँछ ।
(छ)  “निर्वाचक मण्डल” भन्नाले दफा ४ बमोजिमको निर्वाचक मण्डल सम्झनु     पर्छ ।
(ज)  “निर्वाचन” भन्नाले संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (क) बमोजिम राष्ट्रिय सभा सदस्यको लागि हुने निर्वाचन सम्झनु पर्छ र सो शब्दले निर्वाचित भएको सदस्यको पद रिक्त भएको अवस्थामा गरिने उपनिर्वाचनलाई समेत जनाउँछ ।
(झ)  “निर्वाचन अधिकृत” भन्नाले दफा ७ बमोजिम नियुक्त निर्वाचन अधिकृत सम्झनु पर्छ र सो शब्दले सहायक निर्वाचन अधिकृतलाई समेत जनाउँछ ।
(ञ)  “निर्वाचन प्रतिनिधि” भन्नाले दफा २९ बमोजिम नियुक्त भएको निर्वाचन प्रतिनिधि सम्झनु पर्छ ।
(ट)  “मतदाता” भन्नाले दफा ४ बमोजिमको निर्वाचक मण्डलमा नाम रहेका प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख सम्झनु पर्छ ।
(ठ)  “मतदान अधिकृत” भन्नाले दफा १० बमोजिम नियुक्त मतदान अधिकृत सम्झनु पर्छ ।
(ड)  “मतपत्र” भन्नाले निर्वाचनमा मतदान गर्नका लागि व्यवस्था गरिएको मतपत्र सम्झनु पर्छ र सो शब्दले विद्युतीय उपकरणबाट मतदान हुने व्यवस्था भएकोमा त्यस्तो विद्युतीय उपकरणमा प्रयोग हुने मतपत्र वा त्यस्तो उपकरणमा जडित डिजिटल मतपत्रलाई समेत       जनाउँछ ।
(ढ)  “मतपेटिका” भन्नाले मत सङ्केत गरेको मतपत्र राख्नको लागि आयोगले व्यवस्था गरेको मतपेटिका सम्झनु पर्छ र सो शब्दले विद्युतीय उपकरणबाट मतदान गरेकोमा त्यसरी मतदान गरेको मत सङ्केतलाई अभिलेख गर्ने विद्युतीय उपकरणलाई समेत जनाउँछ।
(ण)  “राष्ट्रिय सभा” भन्नाले संविधानको धारा ८६ बमोजिम गठन हुने राष्ट्रिय सभा सम्झनु पर्छ ।
(त)  “सदस्य” भन्नाले राष्ट्रिय सभाको सदस्य सम्झनु पर्छ ।
(थ)  “संविधान” भन्नाले नेपालको संविधान सम्झनु पर्छ ।