दफा ३९
राहतको न्यूनतम मापदण्ड सम्बन्धी व्यवस्था
: (१) नेपाल सरकारले कार्यकारी समितिको सिफारिसमा विपद् प्रभावित व्यक्तिलाई उपलव्ध गराउने राहतको न्यूनतम मापदण्ड बनाई लागू गर्नेछ ।
(२) उपदफा (१) बमोजिमको राहतको न्यूनतम मापदण्डमा अन्य विषयको अतिरिक्त देहायका विषय समावेश भएको हुनु पर्नेछ :-
(क)   विपद्‍बाट प्रभावित व्यक्तिलाई अस्थायी आश्रयस्थलमा राख्दा उपलव्ध गराउनु पर्ने आवास, खाद्यान्न, खानेपानी, स्वास्थ्य तथा सरसफाइ सम्बन्धी,
(ख)   विपद्‍बाट मृत्यु हुनेको परिवार तथा सम्पत्तिको क्षति हुने व्यक्तिलाई उपलब्ध गराउनु पर्ने न्यूनतम राहत सम्बन्धी,
(ग)   महिला, बालबालिका, जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिको हित सम्बन्धी,
(घ)    न्यूनतम राहत बाहेक स्वरोजगार तथा रोजगारी व्यवस्थापनका माध्यमबाट पीडितको जीविकोपार्जन सम्बन्धी,
(ङ)    गैरसरकारी वा व्यक्तिगत रूपमा दिइने राहतलाई वितरण सम्बन्धी,
(च)    एकद्वार प्रणाली अनुरुप राहत वितरण गर्ने सम्बन्धी,
(छ)   राहतसँग सम्बन्धित अन्य उपयुक्त विषय ।
(३) उपदफा (१) बमोजिमको राहतको न्यूनतम मापदण्ड विपद् प्रभावित व्यक्तिलाई राहत उपलब्ध गराउने सबै निकाय, व्यक्ति वा संस्थाले पालना गर्नु पर्नेछ ।