दफा
व्यक्तिको शारीरिक तथा निजी जीवनको गोपनीयता
(१) प्रत्येक व्यक्तिको शारीरिक र मानसिक अवस्था सम्बन्धी विषयको गोपनीयता अनतिक्रम्य हुनेछ।
(२) कुनै पनि व्यक्तिको शारीरिक गोपनीयताको विषय निजको शरीर वा स्वास्थ्य परीक्षण गर्दा, उपचार गर्दा वा आपतकालीन उद्धार कार्य गर्दाको अवस्थामा बाहेक सम्बन्धित व्यक्तिको मञ्जुरीविना अनतिक्रम्य रहनेछ।
(३) कुनै पनि व्यक्तिलाई निजको निजी जीवनसँग सम्बन्धित जैविक वा आनुवंशिक पहिचान, लैङ्गिक पहिचान, यौनिकता, यौन सम्बन्ध, गर्भाधान वा गर्भपतन, कुमारीत्व, पुरुषत्व, नपुंशकत्व वा शारीरिक रोग जस्ता विषयको गोपनीयता कायम राख्ने अधिकार हुनेछ।
(४) कसैले कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने, आघात पुग्ने वा बेइज्जत हुने गरी त्यस्तो व्यक्तिसँग सम्बन्धित उपदफा (३) बमोजिमका कुनै पनि विषय लेखेर, बोलेर, प्रकाशन गरेर वा विद्युतीय माध्यम प्रयोग गरेर वा अन्य कुनै पनि प्रकारले सार्वजनिक गर्नु वा गराउनु हुँदैन   ।
(५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा व्यक्तिको शारीरिक वा मानसिक अवस्था वा निजी जीवनको गोपनीयता खुलासा गर्न सकिनेछः-
(क)   सम्बन्धित व्यक्तिको मञ्जुरी भएको विषय भएमा,
(ख)   सम्बन्धित व्यक्तिले नै आफूखुशीले सार्वजनिक गरिसकेको विषय भएमा,
(ग)   अनुसन्धान वा अभियोजन गर्ने अधिकारीले कुनै कसूरको सिलसिलामा अनुसन्धान गरेको विषय भएमा,
(घ)   कुनै सुविधा वा सहुलियत प्राप्त गर्न उपदफा (३) सँग सम्बन्धित विषय वा व्यक्तिको शारीरिक अवस्था वा निजी जीवन खुलासा गर्नु पर्ने अवस्थामा निजले त्यस्तो सुविधा वा सहुलियत प्राप्त गरेमा वा प्राप्त गर्न इच्छा गरेमा।