दफा १५
शिक्षाको अधिकार
(१) छ वर्ष मुनिका बालबालिकालाई आफ्नो उमेर र विकासको स्तर अनुसार उपयुक्त ढङ्‍गले सिक्न पाउने तथा प्रारम्भिक बाल विकासको अधिकार हुनेछ।
(२) प्रत्येक बालबालिकालाई प्रचलित कानून बमोजिम आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निशुल्क रूपमा बालमैत्री वातावरणमा पाउने अधिकार हुनेछ।
(३) प्रत्येक बालबालिकालाई आफ्नो विशेष शारीरिक तथा मानसिक अवस्था अनुसार प्रचलित कानून बमोजिम उपयुक्त अध्ययन सामग्री तथा शिक्षण विधि मार्फत् शिक्षा पाउने अधिकार हुनेछ।
(४) दलित बालबालिकालाई प्रचलित कानून बमोजिम छात्रवृत्ति सहितको निशुल्क शिक्षा पाउने अधिकार हुनेछ।