नियम ८८
अंगभंग भए वा चोटपटक लागे बापत पाउने सुविधा

(१) कुनै कर्मचारी व्यवस्थापिका–संसदको वा सरकारी कामको सिलसिलामा चोट पटक लाग्न गई सेवाबाट अवकाश लिनु पर्ने नभए तापनि सो चोट पटकको कारणबाट निजको क्षमता बृद्धिमा वाधा पर्ने भएमा त्यस्तो कर्मचारीलाई लागेको चोट पटकको अवस्थाको विचार गरी निजले खाइपाई आएको तलबको अन्तिम स्केलको तलब बृद्धि वा दश हजार रूपैंयाँसम्म एकमुष्ट रकम आर्थिक सहायता दिन सकिनेछ ।
(२) उपनियम (१) बमोजिमको चोट पटकको उपचार गराउन आवश्यक पर्ने अवधिभरको निमित्त कर्मचारीले निजको कुनैपनि संचित बिदाबाट बिदा कट्टा नहुने गरी पूरा तलब सहितको थप बिरामी बिदा पाउनेछ । यस्तो थप विरामी बिदा स्वीकृत गर्दा नियम ९१ को उपनियम (१) को समितिको सिफारिसलाई आधार मान्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम उपचार गराउँदा लागेको उपचार खर्चको शतप्रतिशत रकम त्यस्तो कर्मचारीले पाउनेछ । यस्तो उपचार खर्च पाएको कारणले त्यस्तो कर्मचारीले पछि बिरामी हुंदा नियम ८५ को उपनियम (१) बमोजिम पाउने उपचार खर्च पाउनमा कुनै बाधा पु¥याएको मानिने छैन ।
(४) नियम ८५ को उपनियम (२) तथा यस नियमको उपनियम (३) बमोजिम उपचार गर्दा आँखा, हात वा खुट्टाको प्रत्यारोपण गर्नु पर्ने भएमा यसरी अंग प्रत्यारोपण गर्दा लाग्ने सम्पूर्ण खर्च त्यस्तो कर्मचारीले पाउनेछ ।
(५) उपनियम (२) बमोजिम उपचार गराउँदा गराउँदै कुनै कर्मचारीको मृत्यु भएमा त्यसरी उपचार गराउँदा लागेको उपचार खर्चको रकम त्यस्तो कर्मचारीको नियम ९२ को उपनियम (२) बमोजिमको परिवारको सदस्यलाई दिइनेछ ।
(६) यस नियम बमोजिमको उपचार खर्च पाउन अस्पताल भर्ना भएको तीन महिना भित्र दावी गरी सक्नु पर्नेछ ।
(७) आफ्नै लापरवाहीले चोट पटक लागेको कारण अंगभंग हुन गएको कर्मचारीलाई यस नियम बमोजिमको सुविधा दिईने छैन ।