नियम
अध्यक्षको निर्वाचन
(१) अध्यक्षको निर्वाचन तोकिएकोे दिनमा हुनेछ र त्यसको सूचना महासचिवले प्रकाशन गर्नेछ । (२) उपनियम (१) बमोजिम प्रकाशित कार्यक्रममा निर्धारित समयभित्र कुनै सदस्यले कुनै अर्को सदस्यलाई अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने अनुसूची–१ बमोजिमको ढाँचामा प्रस्तावको सूचना महासचिवलाई दिनु पर्नेछ । (३) उपनियम (२) बमोजिमको प्रस्तावको सूचना प्रस्तावक सदस्यले बैठकमा प्रस्तुत गरेपछि समर्थक सदस्यले समर्थन गर्नेछ । त्यस्तो प्रस्तावको एक मात्र सूचना प्राप्त भएमा समर्थक सदस्यले बोलिसकेपछि अध्यक्षता गर्ने व्यक्तिले प्रस्तावित सदस्य अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछ । (४) उपनियम (२) बमोजिमको समयमा एक भन्दा बढी प्रस्तावको सूचना प्राप्त भएकोमा दर्ता क्रमानुसार प्रस्तावक सदस्यले प्रस्ताव प्रस्तुत गर्ने र समर्थक सदस्यले समर्थन गर्ने क्रम सकिएपछि सबै प्रस्तावमाथि संक्षिप्त छलफल हुनेछ र त्यसपछि अध्यक्षता गर्नेले सबै प्रस्तावलाई क्रमशः निर्णयार्थ प्रस्तुत गर्नेछ । (५) एक भन्दा बढी प्रस्तावको सूचना प्राप्त भई उपनियम  ४) बमोजिम निर्णयार्थ प्रस्तुत भएकोमा जुन प्रस्ताव राष्ट्रिय सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन्छ सो प्रस्तावमा प्रस्तावित सदस्य अध्यक्ष पदमा निर्वाचित भएको मानिनेछ र बाँकी प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने छैन । (६) अध्यक्ष र उपाध्यक्षको उम्मेदवारको प्रस्तावको निर्णय सदस्यको दस्तखत सहितको मत विभाजनद्वारा हुनेछ । (७) बैठकको अध्यक्षता गर्ने सदस्य अध्यक्ष पदमा प्रस्तावित भएमा अध्यक्ष पदमा प्रस्तावित नभएको त्यस पछिको जेष्ठ सदस्यले सो दिनको बैठकको अध्यक्षता गर्नेछ । (८) अध्यक्षको पद कुनै कारणले रिक्त भएमा यस नियममा उल्लिखित कार्यविधि बमोजिम निर्वाचन गरी पूर्ति गरिनेछ ।