नियम १९
अनुसन्धान तथा तहकिकात सम्बन्धी कार्यविधि
(१) ऐन अन्तर्गत कसूर मानिने कुनै कार्य भएको भन्ने सम्बन्धमा कार्यालयलाई कुनै व्यक्तिले वा माध्यमबाट सूचना प्राप्त भएमा वा मालवस्तुको निरीक्षण वा परीक्षणको क्रममा ऐन अन्तर्गत कसूर मानिने कुनै कार्य भएको पाईएमा सोको व्यहोरा कार्यालयमा अभिलेखकृत गरी कसूरको प्रमाण नष्ट नहुने गरी निरीक्षकले तुरुन्त आवश्यक अनुसन्धान तथा तहकिकात शुरु गर्नु पर्नेछ ।
(२) निरीक्षकले कसूरको अनुसन्धान तथा तहकिकात गर्दा त्यस्तो कसूरसँग सम्बन्धित व्यक्तिसंग आवश्यक कागजात तथा सोसंग सम्बन्धित वस्तुको विवरण माग गर्ने, बयान गराउने, प्रमाण संकलन गर्ने तथा प्राप्त कागजात र वस्तुका सम्बन्धमा
परीक्षण गर्नु पर्ने देखेमा त्यस्तो वस्तुलाई यथास्थितिमा राख्न लगाई सो को आवश्यक मात्रामा नमूना लिई परीक्षण गर्नु गराउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम परीक्षणका लागि पठाईएकोमा परीक्षण प्रतिवेदनबाट त्यस्तो वस्तु स्वस्थ भएको प्रमाणित भएमा वा नियम १३ बमोजिम उपचार गराउँदा स्वस्थ भएमा त्यस्तो वस्तुको बील बिजक अनुसारको रकम धरौटी लिई त्यस्तो माल वस्तु
सडीगली जाने प्रकृतिको भए लिलाम गर्ने र सडीगली नजाने भए वस्तुको भरपाई सम्बन्धित व्यक्तिलाई दिई आफ्नो नियन्त्रणमा लिई सुरक्षित साथ राख्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम परीक्षणका लागि पठाईएको वस्तुको परीक्षणबाट त्यस्तो वस्तु संक्रमित रही रहेको र उपचार हुन नसक्ने भन्ने प्रतिवेदन प्राप्त भएमा वा क्वारेण्टाइन शत्रुजीव रहेको पाईएमा वा सो वस्तु ऐन तथा यस नियमावली बमोजिम निषेधित वस्तु भएमा त्यस्तो वस्तु जफत गरी नियम १५ बमोजिम नष्ट गर्नु गराउनु पर्नेछ ।
(५) निरीक्षकले यस नियम बमोजिम आवश्यक प्रमाण कागजात संकलन गरिसकेपछि अनुसूची–१६ बमोजिमको ढाँचामा अभियोगपत्र तयार गरी सम्पूर्ण कागजात सहितको मिसिल ऐनको दफा २७ को उपदफा (३) बमोजिम सम्बन्धित जिल्लाको जिल्ला सरकारी वकिल समक्ष पठाउनु पर्नेछ ।
(६) उपनियम (५) बमोजिम सरकारी वकिलबाट राय प्राप्त भएपछि सोही बमोजिम निरीक्षकले मुद्दा हेर्ने अधिकारी समक्ष मुद्दा दायर गर्नेछ ।