नियम १२
अन्वेषण सम्बन्धी व्यवस्था<br>
(१) सरकारी कार्यालय वा सार्वजनिक संस्थाबाट सम्पादन हुने काममा अनियमितता भएको छ भन्ने सम्बन्धमा केन्द्रलाई लागेमा केन्द्रले सो सम्बन्धी अन्वेषणको लागि केन्द्रमा कार्यरत अधिकृतस्तरको कुनै कर्मचारीलाई खटाउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम अन्वेषणको लागि खटिई जाने कर्मचारीले अन्वेषणको सिलसिलामा माग गरेको आवश्यक जानकारी, सूचना, विवरण तथा कागजात सम्बन्धित सरकारी कार्यालय वा सार्वजनिक संस्थाको प्रमुखले उपलब्ध गराउनु पर्नेछ ।
(३) अन्वेषण गर्ने कर्मचारीले उपनियम (२) बमोजिम प्राप्त जानकारी, सूचना, विवरण तथा कागजातका आधारमा कुनै कुराको सम्बन्धमा थप जानकारी लिनु पर्ने देखेमा सम्बन्धित पदाधिकारी, कर्मचारी वा अन्य कुनै व्यक्तिसंग सो सम्बन्धमा लिखित जानकारी माग गर्न सक्नेछ ।
(४) अन्वेषण गर्ने कर्मचारीले अन्वेषणको सिलसिलामा अन्य निकायको सहयोग आवश्यक देखेमा त्यस्तो निकायसँग सहयोग माग गर्न सक्नेछ र यसरी सहयोग माग गरेमा सहयोग उपलब्ध गराउनु सम्बन्धित निकायको कर्तव्य हुनेछ ।
(५) उपनियम (१) बमोजिम अन्वेषण गर्ने कर्मचारीले आफूलाई सुम्पिएको कार्य सम्पन्न गरेको सातदिन भित्र सो सम्बन्धमा भए गरेको काम कारबाहीको यथार्थ विवरण उल्लेख गरी आफ्नो राय सहितको प्रतिवेदन केन्द्र समक्ष पेश गर्नु पर्नेछ ।
(६) उपनियम (५) बमोजिम प्राप्त प्रतिवेदनबाट कुनै कर्मचारी वा व्यक्ति उपर कारबाही गर्नु पर्ने देखिएमा केन्द्रले सम्बन्धित निकायमा लेखी पठाउनु पर्नेछ ।