दफा २०
अबहेलना सम्बन्धी निवेदन
(१) ऐनको दफा १४ बमोजिम अवहेलनामा कारबाही चलाउनु पर्ने विषयको उजुरी वा प्रतिवेदन दर्ता गर्ने वा नगर्ने आदेशको लागि इजलास समक्ष पेस गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम उजुरी वा प्रतिवेदन मुद्वाको रुपमा दर्ता गर्ने आदेश गर्दा त्यस्तो कसूरको अभियोग लागेको व्यक्तिलाई अभियोगको प्रकृति र गम्भीरतालाई विचार गरी बयान गर्न आफैं उपस्थित हुन वा कानून बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफसहित उपस्थित हुन समाह्वान जारी गर्ने आदेश दिनु पर्नेछ। तर अभियुक्त भागी पक्राउ हुन नसक्ने सम्भावना छ भन्ने विश्वास गर्नु पर्ने मनासिब कारण भएमा वा समाह्वानमा तोकिएको म्यादमा अभियुक्त अदालतमा उपस्थित नभएमा त्यस्तो अभियुक्तका हकमा अदालतले पक्राउ पूर्जी जारी गर्न सक्नेछ ।
(३) उपनियम (२) बमोजिम समाह्वान जारी गर्दा अभियोगको प्रकृति समेतलाई विचार गरी बाटोको म्याद बाहेक बढीमा पन्ध्र दिनसम्मको अवधि तोकी जारी गर्नु पर्नेछ।
(४) उपनियम (२) बमोजिम आफैं उपस्थित हुन समाह्वान जारी गरिएको अभियुक्त अदालतमा उपस्थित भएपछि निजको बयान गराउनु पर्नेछ।
(५) उपनियम (४) बमोजिमको बयान गर्ने कार्य सम्पन्न भएपछि अदालतले त्यस्तो अभियुक्तलाई मुद्दा पूर्पक्षको निमित्त थुनामा राख्ने, धरौट वा जमानत लिई तारिखमा राख्ने, कुनै जमानत नलिई तारिखमा राखे वा तारिखमा नराखी पुर्पक्ष गर्ने आदेश गर्नु पर्नेछ।
(६) उपनियम (३) बमोजिम जारी भएको समाह्वानको म्यादभित्र लिखित जवाफसहित उपस्थित भएको प्रतिवादीलाई इजलासको आदेश बमोजिम तारिखमा राखी वा नराखी मुद्दाको पुर्पक्ष गर्नु पर्नेछ।
(७) उपनियम (५) वा (६) मा जुनसुकै कुरा लेखिएको भए तापनि मुद्दामा थप प्रमाण बुझ्नु पर्ने अवस्था नदेखिएमा बयान सम्पन्न भएपछि वा लिखित जवाफ पेस भएपछि मुद्वाको फैसला गर्न बाधा पर्ने छैन।