दफा १२२
अभियुक्तको बयान गराउनु पर्ने
(१) अभियुक्तलाई दफा १२१ बमोजिम अभियोग तथा त्यस्तो अभियोगमा हुन सक्ने सजाय सुनाई सकेपछि अदालतले त्यस्तो अभियोग उपर निजको के भनाई छ सोधी निजको बयान अभिलेख गर्नु पर्नेछ ।
(२) अदालतमा उपस्थित भई सकेको अभियुक्तसँग बयान लिनु अगाडि नै निजले कुनै कानून व्यवसायीसँग सल्लाह लिन चाहेमा निजलाई त्यसको मौका दिनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम बयान अभिलेख गर्नु भन्दा अगाडि नै अदालतले अभियुक्तलाई निजले आप्mनो विरुद्ध बयान दिन कर नलाग्ने कुरा जानकारी गराई निजले दिएको बयान निजको विरुद्ध प्रमाण लाग्न सक्छ भनी जानकारी गराउनु पर्नेछ ।
(४) उपदफा (३) बमोजिमको व्यहोरा जानकारी गराउँदा सरकारी वकिलबाट निज विरुद्धको सजायमा छुट हुन प्रस्ताव गरिएको रहेछ भने त्यस्तो कुरा र त्यस सम्बन्धी प्रचलित कानूनको व्यवस्था समेत जानकारी गराउनु पर्नेछ ।
(५) यस दफा बमोजिम अभियुक्तको बयान अभिलेख गर्दा प्रत्येक प्रश्न र त्यसको जवाफ दुवै लेखवद्ध गर्नु पर्नेछ र श्रव्य–दृश्य सम्वाद (भिडियो कन्फरेन्स) मार्फत बयान लिएकोे भए त्यसको अभिलेख समेत राख्नु पर्नेछ ।
(६) उपदफा (५) बमोजिमको बयान अभिलेख भै सकेपछि त्यस्तो अभिलेखमा अभियुक्तको सहीछाप गराई न्यायाधीशले पनि आप्mनो सहीछाप गर्नु पर्नेछ ।
तर श्रव्य–दृश्य सम्वाद (भिडियो कन्फरेन्स) मार्फत बयान लिएकोमा न्यायाधीशले त्यस्तो कुरा प्रमाणित गरी राख्नु पर्नेछ ।
(७) यस दफा बमोजिम बयान गराउंँदा अभियुक्तसँग बुझनु पर्ने कुनै कुरा छुट हुन गएमा अदालतले त्यस्तो अभियुक्तलाई उपस्थित गराउन लगाई निजसँग छुट कुराको ततिम्बा बयान लिन सक्नेछ ।
(८) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अनुसूची–४ अन्तर्गतको कसूर सम्बन्धी मुद्दामा प्रतिवादी रहेको ब्यक्तिले अदालतबाट जारी भएको म्याद भित्र अनुसूची–४२ बमोजिमको ढाँचामा प्रतिउत्तर पत्र दाखिला गर्नु पर्नेछ ।