दफा १९
अभियोगपत्रमा खुलाउनु पर्ने कुराहरू
(१) मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२, मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ को नियम ११ र यस नियमावलीको नियम ११ मा उल्लिखित कुराहरूका अतिरिक्त अदालतमा दायर हुने अभियोगपत्रमा देहायका कुराहरू समेत खुलाउनु पर्नेछः-
(क) मुलुकी अपराध संहिता, २०७४ को दफा ३८ वा ३९ बमोजिमको कसूरको गम्भीरता बढाउने वा घटाउने अवस्था रहेको भए सो सम्बन्धी विषय वा दफा ४३ वा ४४ बमोजिम थप सजायको माग दाबी सम्बन्धी विषय,
(ख) अभियुक्तले राज्यको तर्फबाट प्राप्त गरेको मान, पदवी, उपाधि, निवृत्तिभरण वा अन्य कुनै सुविधाहरू प्रचलित कानून बमोजिम खारेज गर्नु वा रोक लगाउनु पर्ने भए सो विषय,
(ग) प्रचलित कानून बमोजिम पहिचानको गोपनीयता कायम राख्नु पर्ने भए सो सम्बन्धी विषय,
(घ) प्रचलित कानून बमोजिम सजायमा छुटको दाबी लिएको भए सो सम्बन्धी विषय,
(ङ) भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम कुनै व्यक्तिलाई सरकारी साक्षी बनाएको भए सो विषय,
(च) मुद्दा चलाउन प्रचलित कानून बमोजिम कुनै निकायको अनुमति लिनुपर्ने भए सो सम्बन्धी विषय।
(२) उपनियम (१) बमोजिम अदालतमा अभियोगपत्र दायर गर्दा कुनै अधिकृतलाई अधिकार प्रत्यायोजन गरिएको भएमा त्यस्तो अख्तियारी वा त्यस्तो अभियोगपत्र दायर गर्ने सम्बन्धमा अनुसन्धान तथा तहकिकात गर्ने निकायको निर्णय र सम्बन्धित मिसिल तथा प्रमाण साथै पेस गर्नु पर्नेछ।
(३) अभियुक्त पक्राउ परेको अवस्थामा निजलाई अभियोगपत्रसाथ अदालतमा उपस्थित गराउनु पर्नेछ। उपस्थित नगराइएको वा गराउन नसकेको भए सोको कारण उल्लेख गर्नु पर्नेछ।
(४) दर्ताका लागि पेस भएको अभियोगपत्रसाथ सम्भव भएसम्म प्रतिवादीको हालसालै खिचिएको एक प्रति फोटो समेत संलग्न गर्नु पर्नेछ। निवेदनसाथ बयानको लागि उपस्थित भएका प्रतिवादीको फोटो मिसिल संलग्न गर्नु पर्नेछ।
(५) प्रतिवादीको नाम, थर, ठेगाना, दर्जा तथा निजको बाबु वा पतिको नाम समेतको स्पष्ट विवरण नखुलाई ल्याएको अभियोगपत्रमा सोही बेहोरा जनाई फिर्ता वा दरपिठ गर्नु पर्नेछ।
तर एकभन्दा बढी प्रतिवादी भएको मुद्दामा कसैको हकमा विवरण खुलाएको र कसैको हकमा नखुलाइएको रहेछ भने स्पष्ट रुपमा विवरण खुलाइएका प्रतिवादीका हकमा मुद्दा दर्ता गरी स्पष्ट रुपमा विवरण नखुलाइएका प्रतिवादीका हकमा आधार र कारणसहितको बेहोरा जनाई दरपिठ गरी त्यसको जानकारी मुद्दा दर्ता गर्न ल्याउने निकायलाई दिनु पर्नेछ।
(६) अभियोगपत्रमा उल्लेख भएको प्रतिवादीको ठेगाना वास्तविक नभई म्याद तामेल हुन नसकेमा प्रतिवादीको वास्तविक ठेगाना खुलाउन इजलासको आदेश बमोजिम अभियोजन गर्ने निकायलाई सूचना दिनु पर्नेछ। त्यस्तो सूचना बमोजिम अभियोजन गर्ने निकायले प्रतिवादीको वास्तविक ठेगाना खुलाई नपठाएमा वा पठाएको ठेगाना समेत वास्तविक नभई म्याद तामेल हुन नसकेमा वा अन्य कुनै कारणले त्यस्तो म्याद बुझाउन नसकिएको कुराको प्रतिवेदन पर्न आएमा ऐनको दफा १० को उपदफा (९) बमोजिम सूचना प्रकाशन गरी म्याद तामेल गरिनेछ ।