दफा २३
अभिलेख सुरक्षित राख्नु पर्ने
(१) संस्थाले भुक्तानी प्रणाली सञ्चालन वा भुक्तानी सेवा प्रदान गर्दा अपनाउनु पर्ने सुरक्षा नीति, ढाँचा र सोको लागि अवलम्बन गरिएका उपाय वा संयन्त्रको नियमित अनुगमन वा परीक्षण गरी भुक्तानी तथा फर्स्यौटको विवरण र सो सम्बन्धी सूचना तथा अभिलेख सुरक्षित राख्नु पर्नेछ।
(२) संस्थाले भुक्तानी प्रणालीको सुरक्षा, गोपनीयता र विश्वसनीयताको लागि आधिकारिक वा प्रमाणित कम्प्युटर संयन्त्र (सर्टिफाइड सफ्टवेयर र हार्ड वेयर) र सुरक्षित तथ्याङ्क प्रणाली (सेक्यूर्ड डेटाबेस, डेटा ब्याकअप, डेटा सेन्टर) को अतिरिक्त र संभावित क्षतिको न्यूनीकरण गर्न क्षति पुनस्थापन प्रणाली (डिजास्टर रिकभरी सिस्टम) को व्यवस्था गर्नु पर्नेछ।
(३) संस्थाले सेवाग्राहीको नाम, ठेगाना, खाता नम्बर, कारोबार मिति, कारोबारको रकम, रकम स्थानान्तरण (ट्रान्सफर) को किसिम, सेवाग्राहीले रकम स्थानान्तरण (ट्रान्सफर) गरेको खाता र रकमको विवरण, भुक्तानी वा रकम स्थानान्तरण (ट्रान्सफर) गर्न सेवाग्राहीले दिएको आदेश, मौज्दात विवरण र तोकिए बमोजिमका अन्य विवरण तथा अभिलेख बैङ्कले तोकेको अवधिसम्म सुरक्षित राख्नु पर्नेछ।