नियम ८९
असाधारण पारिवारिक वृत्ति तथा उपदान

(१) व्यवस्थापिका–संसदको वा सरकारी कामको सिलसिलामा दुर्घटनामा परी कुनै कर्मचारीको तत्कालै वा सोही दुर्घटनाको
कारणबाट मृत्यु हुन गएमा निजको पत्नी वा पतिलाई निजको जीवनभर ऐनको दफा ५० को उपदफा (४) अनुसारको न्यूनतम निवृत्तभरणको पचास प्रतिशतको दरले हुने रकम असाधारण पारिवारिक वृत्ति मासिक रूपमा र मृतक कर्मचारीले खाईपाई आएको तीन महिनाको रकम थप उपदान वापत एक मुष्ट दिईनेछ ।
(२) कर्मचारीको विधुर पति वा विधवा पत्नीलाई देहाय बमोजिमको अवस्थामा मात्र मान्यता दिइनेछः–
(क) उपर्युक्त कारणबाट मृत्यु हुने घटना घटनु अघि त्यस्तो कर्मचारीसँग वैवाहिक सम्बन्ध भइसकेको हुनु पर्नेछ ।
(ख) कर्मचारीको मृत्यु हुँदाका बखत छुट्टी भिन्न भै नसकेको हुनु पर्नेछ ।
(३) विधवा पत्नी नभएमा वा भए पनि पतिको मृत्युअघिनै छुट्टी भिन्न भैसकेको भएमा त्यस्तो विधवा पत्नीबाट जन्मेको निज मृतक कर्मचारीको सन्तति वा निज मृतक कर्मचारीलेनै ग्रहण गरेको धर्मपुत्र धर्मपुत्रीलाई उपनियम (१) बमोजिमको थप उपदान दामासाहीले एकमुष्ट दिन सकिनेछ । त्यस्ता सन्तति वा धर्मपुत्र वा धर्मपुत्री अठार वर्ष भन्दा कम उमेरका रहेछन् भने समितिले निजहरू अठार वर्ष उमेर नपुगुन्जेलसम्म विधुर पति वा विधवा पत्नीले पाउने असाधारण पारिवारिक वृत्तिको दुई तिहाइमा नबढ्ने गरी मनासिब ठहराएका रकमको दरले मासिक असाधारण पारिवारिक वृत्ति दिइनेछ ।
(४) मृतक कर्मचारीको विधवा पत्नी वा विधुर पति, सन्तति वा धर्मपुत्र वा धर्मपुत्री रहेनछन् र निज कर्मचारीमा आश्रित आमा बाबु दुबै वा तीमध्ये कुनै एक रहेछन् भने विधुर पति वा विधवा पत्नीले पाउने असाधारण पारिवारिक वृत्तिको दुई तिहाइ बराबरको आजीवन पारिवारिक वृत्ति प्रदान गरिनेछ ।
(५) मृतक कर्मचारीको विधवा पत्नी, विधुर पति वा सन्ततिको सम्बन्धमा कुनै विवाद आएमा समितिले उचित र न्यायसँगत तरिकाबाट कारबाही गर्न सक्नेछ ।
(६) मृतक कर्मचारीको विधवा पत्नी, सन्तति, धर्मपुत्र धर्मपुत्री, आमा वा बाबु कुनै रहेनछन् र त्यस्तो कर्मचारीमा आश्रित दाजु भाइ वा दिदी बहिनी वा तीमध्ये कुनै रहेछन् भने समितिले मनासिब देखेको अवधिसम्मको लागिे विधवा स्त्रीले पाउने पारिवारिक वृत्तिको अङ्कको दुई तिहाइमा नबढ्ने गरी मनासिब ठहराएको दरले दामासाहीले पारिवारिक वृत्ति प्रदान गर्न सक्नेछ ।
स्पष्टीकरणः यस नियमको प्रयोजनको लागि ‘आमा बाबु’ भन्नाले विवाहित महिला कर्मचारीको हकमा निजको ‘सासू ससुरा’ समेतलाई जनाउँछ ।
(७) कुनै कर्मचारी व्यवस्थापिका–संसदको वा सरकारी कामको सिलसिलामा अन्यत्र काज खटिई गएको अवस्थामा मृत्यु भएमा व्यवस्थापिका–संसदको वा सरकारी कामको सिलसिलामा मृत्यु भएको मानिनेछ ।