नियम ४७
असाधारण बिदा
(१) कर्मचारीले असाधारण बिदा लिनु पर्ने कारण सहित निवेदन दिनु पर्नेछ र कारण मनासिब देखिएमा समितिले एक पटकमा एक वर्षमा नबढाई र सेवा अवधिभरमा तीन वर्षमा नबढाई असाधारण बिदा दिन सक्नेछ ।
(२) असाधारण बिदामा बस्ने कर्मचारीले सो अवधिभर तलब पाउने छैन । तर नियम ४२ को उपनियम (१०) बमोजिम असाधारण बिदामा बस्ने कर्मचारीले त्यस्तो बिदामा बसेको अवधिको पूरा तलब पाउनेछ ।
(३) नियम ४९ को अवस्था वाहेक पाँच वर्ष सरकारी सेवा अवधि नपुगी कुनै पनि कर्मचारीले असाधारण बिदा पाउने छैन ।
तर नियम ४२ को उपनियम (१०) बमोजिम थप बिरामी बिदा बापत असाधारण बिदामा बस्न यस उपनियमले बाधा पुर्याएको मानिने छैन ।
(४) कर्मचारीले लिएको नियम ४२ को उपनियम (१०) बमोजिमको असाधारण बिदा वाहेकको असाधारण बिदाको अवधि निजको सेवा अवधिमा गणना गरिने छैन ।