नियम १७
आयोजनाको प्राविधिक मूल्याङ्कन, जाँचपास र फरफारक
(१) उपभोक्ता समिति मार्फत सञ्चालन भएको आयोजनाको हकमा भएको खर्चको बील भौचरसहितको विवरण सम्बन्धित उपभोक्ता समितिले र ठेक्वाबाट सञ्चालन भएका आयोजनाको हकमा सम्बन्धित निर्माण व्यवसायीले सम्बन्धित स्थानीय तहको कार्यालयमा पेश गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको विवरण प्राप्त भएमा सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतले जाँचपासका लागि प्राविधिक कर्मचारी खटाई सम्पन्न भएका कामको सम्बन्धमा प्रतिवेदन पेश गर्न लगाउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम खटिएको कर्मचारीले बजेट अनुसार काम भए नभएको स्पष्ट रुपमा खुलाई प्रतिवेदन दिनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिमको प्रतिवेदनबाट खर्च अनुसारको काम भएको भन्ने देखिन आएमा कार्यालयले त्यस्तो कामको जाँचपास गरिदिनु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम कार्यालयबाट जाँचपास भइसकेपछि प्रमुख प्रशासकीय अधिकृतले प्रचलित कानून बमोजिम त्यस्तो कामको हिसाब फरफारक गरी सोको विवरण चौमासिक रूपमा सार्वजनिक गर्नु पर्नेछ ।