(१) पदाधिकारी र सदस्यलाई आवासको निमित्त नेपाल सरकारको तर्फबाट सरकारी घरको
बन्दोबस्त गरिनेछ । त्यस्तो घरको बन्दोबस्त नभएकोमा पदाधिकारी र काठमाडौं उपत्यकामा घर नभएका प्रत्येक सदस्यलाई मासिक रुपमा अनुसूची–१ बमोजिमको रकम आवास सुविधा बापत दिइनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि काठमाडौं उपत्यकामा घर हुने पदाधिकारी वा सदस्यलाई आवास मर्मत र सम्भार बापत सो उपदफा बमोजिमको रकमको आधा रकम दिइनेछ ।
(३) उपदफा (१) बमोजिम नेपाल सरकारको तर्फबाट बन्दोबस्त भएको घरको मर्मत र सम्भार नेपाल सरकारले गर्नेछ ।
(४) उपदफा (१) बमोजिम आवास सुविधा बापत रकम उपलब्ध गराइएकोमा पदाधिकारीलाई निजी सचिवालय तथा गार्डघर बन्दोबस्त गर्न अनुसूची–१ मा उल्लेख भए बमोजिमको रकम उपलब्ध गराइनेछ ।
(५) पदाधिकारी वा सदस्यले यस दफा बमोजिम पाउने सुविधा आफ्नो पदावधि समाप्त भएको मितिले पन्ध्र दिनसम्म पाउनेछ ।
(६) उपदफा (१) बमोजिम नेपाल सरकारबाट आवास सुविधा बन्दोबस्त नभएमा वा दफा ५ को उपदफा (२) बमोजिम फर्निचरको व्यवस्था नगरिएकोमा पदाधिकारी र सदस्यलाई आवासमा फर्निचर सम्बन्धी व्यवस्था गर्नको लागि संघीय संसदको एक कार्यावधिको निमित्त अनुसूची–१ बमोजिमको रकम उपलब्ध गराइनेछ ।
तर मन्त्री वा पदाधिकारीको हैसियतले एक पटक फर्निचर सम्बन्धी सुविधा पाइसकेको भए निजलाई संघीय संसदको सोही कार्यावधिभित्र यस उपदफा बमोजिमको फर्निचर सुविधा दिइने छैन ।