दफा
इजाजतपत्र लिनु पर्ने
(१) पञ्जीकरण वा पुनः पञ्जीकरण गरिएका जीवनाशक विषादीको उत्पादन, संश्लेषण, निकासी, पैठारी, ओसारपसार, प्याकिङ्ग वा पुनः प्याकिङ्ग गर्न चाहने कुनै व्यक्ति, संस्था वा निकायले सो कार्य गर्नु पूर्व केन्द्रबाट इजाजतपत्र लिनु पर्नेछ।
(२) उपदफा (१) बमोजिम इजाजतपत्र प्रदान गर्नु पूर्व केन्द्रले तोकिए बमोजिमको प्राविधिक जानकारी उपलब्ध गराउनु पर्नेछ।
(३) उपदफा (१) बमोजिम दिइने इजाजतपत्रको अवधि तीन वर्षको हुनेछ।
(४) उपदफा (३) बमोजिमको अवधि समाप्त हुनुभन्दा पैँतीस दिन अगावै तोकिएको दस्तुर सहित सम्बन्धित इजाजतपत्रवालाले नवीकरणको लागि केन्द्र समक्ष निवेदन दिनु पर्नेछ।
(५) उपदफा (४) बमोजिमको अवधिभित्र निवेदन दिन नसक्ने इजाजतपत्रवालाले उपदफा (३) बमोजिमको अवधि समाप्त भएको मितिले पन्ध्र दिनभित्र दोब्बर दस्तुर सहित इजाजतपत्रको नवीकरणको लागि केन्द्र समक्ष निवेदन दिन सक्नेछ।
(६) उपदफा (४) र (५) बमोजिम प्राप्त निवेदनका सम्बन्धमा आवश्यक जाँचबुझ गरी केन्द्रले अर्का तीन वर्षको लागि इजाजतपत्रको नवीकरण गरिदिन सक्नेछ।
(७) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि जीवनाशक विषादीको बिक्री वितरण र छर्कने कार्यको इजाजतपत्र दफा ३ बमोजिम पञ्जिकरण गरिएका विषादीमध्ये विषादी बिक्री वितरण तथा विषादी छर्कने व्यवसायको इजाजतपत्र प्रदान तथा सोको नवीकरण तथा खारेजी गर्ने सम्बन्धी व्यवस्था सम्बन्धित प्रदेशको प्रदेश कानून बमोजिम हुनेछ।
(८) यस दफा बमोजिम नवीकरण नगराउने इजाजतपत्र स्वतः खारेज भएको मानिनेछ।
(९) उपदफा (१) बमोजिम इजाजतपत्र सम्बन्धी निवेदनको ढाँचा, सोको लागि लाग्ने दस्तुर, प्रक्रिया, इजाजतपत्र लिन चाहने व्यक्ति, संस्था वा निकायको योग्यता र इजाजतपत्रको नवीकरण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।