नियम
इजाजतपत्रको नवीकरण
(१) इजाजतपत्रवालाले देहायको विवरण पेश गरी प्रत्येक आर्थिक वर्षको असार मसान्तभित्र इजाजतपत्र नवीकरण गराउनु पर्नेछ–
(क) अघिल्लो आर्थिक वर्षको आय विवरण बुझाएको भरपाई वा आयकर दाखिला गरेको प्रमाण,
(क१) पछिल्लो दुई आर्थिक वर्षमा प्रत्येक वर्ष कम्तीमा एकसय जना कामदार वेदेशिक रोजगारमा पठाएको प्रमाणित हुने कागजात, (ख) अघिल्लो आर्थिक वर्षमा वैदेशिक रोजगारमा कामदार पठाएको संख्या र अवस्था ।
(२) ऐनको दफा १२ को उपदफा (३) बमोजिम तीन वर्षको एकै पटक इजाजतपत्र नवीकरण गराउने इजाजतपत्रवालाले नवीकरण अवधि समाप्त भएको वर्षको असार मसान्तभित्र इजाजतपत्र नवीकरण गराउनु पर्नेछ ।
(३) इजाजतपत्र नवीकरण गराउँदा एक आर्थिक वर्षको दशहजार रुपैयाँका दरले नवीकरण दस्तुर बुझाउनु पर्नेछ ।
(४) उपनियम (१) बमोजिमको म्यादभित्र नवीकरण नभएको इजाजतपत्र नवीकरण गराउन चाहने इजाजतपत्रवालाले उपनियम (३) बमोजिमको नवीकरण दस्तुरको अतिरिक्त प्रत्येक महिनाको लागि दशहजार रुपैयाँको दरले थप नवीकरण दस्तुर बुझाई सोही आर्थिक वर्षको असोज मसान्तसम्म इजाजतपत्र नवीकरण गराउन सक्नेछ । त्यस्तो इजाजतपत्र नवीकरण नगराएमा वैदेशिक रोजगार व्यवसाय गर्न पाउने छैन ।
(५) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि सम्वत् २०६१ साल भाद्र १६ गतेदेखि यो नियमावली प्रारम्भ हुँदाका बखतसम्म काबुबाहिरको परिस्थिति परि इजाजतपत्र नवीकरण गराउन नसकेका इजाजतपत्रवालाले सो व्यहोरा खुलाई यो नियमावली प्रारम्भ भएको मितिले नब्बे दिनभित्र आफूले राखेको धरौटीबाट कुनै रकम सापटी लिएको भए सो फिर्ता बुझाई इजाजतपत्र नवीकरणको लागि विभागमा निवेदन दिएमा र निवेदनको व्यहोरा मनासिव देखिएमा एक पटकको लागि प्रत्येक वर्षको पचास हजार रुपैयाँका दरले नवीकरण दस्तुर लिई इजाजतपत्र नवीकरण गर्न सकिनेछ ।