दफा ७ख
उच्चपदस्थ व्यक्तिको पहिचान सम्बन्धी विशेष व्यवस्था
(१) सूचक संस्थाले आफ्नो ग्राहक वा वास्तविक धनी वा ग्राहक बन्न खोज्ने व्यक्ति उच्चपदस्थ व्यक्ति भए वा नभएको यकिन गर्न जोखिम व्यवस्थापन प्रणालीको व्यवस्था गर्नु पर्नेछ । (२) सूचक संस्थाले ग्राहक वा वास्तविक धनीको रुपमा रहेको विदेशी उच्चपदस्थ व्यक्ति र व्यावसायिक कारणले उच्च जोखिमयुक्त देखिएको अन्तर्राष्ट्रिय संस्थाको उच्चपदस्थ व्यक्ति वा स्वदेशी उच्चपदस्थ व्यक्तिसग व्यावसायिक सम्बन्ध स्थापना गर्दा वा कारोबार गर्दा देहायको अतिरिक्त उपाय अपनाउनु पर्नेछः– (क) व्यावसायिक सम्बन्ध स्थापना गर्नु अघि सूचक संस्थाको व्यवस्थापन हेर्ने उच्च अधिकारीको स्वीकृति लिने, (ख) विद्यमान ग्राहक उच्चपदस्थ व्यक्ति भएको थाहा हुन आएमा तत्काल खण्ड (क) बमोजिमको स्वीकृति लिने, (ग) ग्राहक वा वास्तविक धनीको सम्पत्ति तथा कोषको स्रोत पहिचान गर्न पर्याप्त उपाय अवलम्बन गर्ने, (घ) ग्राहक तथा निजसगको व्यावसायिक सम्बन्ध वा कारोबारको सम्बन्धमा निरन्तर रुपमा अनुगमन गर्ने, (ङ) दफा ७ङ. बमोजिम बृहत् ग्राहक पहिचान सम्बन्धी उपाय अवलम्बन  गर्ने । (३) उपदफा (१) र (२) बमोजिमको व्यवस्था उच्चपदस्थ व्यक्तिको परिवारको सदस्य तथा सम्बद्ध व्यक्तिको हकमा समेत लागू हुनेछ ।