दफा १६
उपचार खर्च
(१) महान्यायाधिवक्ताले आफू बिरामी भई उपचार गराउँदा देहाय बमोजिमको उपचार खर्च पाउनेछ:-
(क) अस्पतालमा भर्ना हुँदा र उपचार गराउँदा लागेको अस्पतालको बिल बमोजिमको खर्च र अस्पतालको चिकित्सकको प्रेसक्रिप्सन बमोजिम खरिद गरेको औषधि खर्च ।
तर चिकित्सकको प्रेसक्रिप्सनमा रोगको निदान (डाइग्नोसिस) गरिएको हुनुपर्छ ।
(ख) प्लाष्टिक सर्जरी बाहेक सबै किसिमको चिरफार (सर्जिकल अपरेशन) गर्दा लागेको बिल बमोजिमको खर्च । तर निजी नर्सिङ्ग होममा चिरफार गरेको खर्च भने दिइने छैन ।
(ग) चश्मा, दाँत, एयरफोन आदि उपकरणको लागि नेपाल सरकारले तोकिदिएको रकममध्ये लागेको बिल बमोजिमको खर्च ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि महान्यायाधिवक्ताले आफ्नो कार्यकाल भर पाउने उपचार खर्चको रकम निजले पाउने बाह्र महिनाको पारिश्रमिक बराबरको रकम भन्दा बढी हुने छैन ।
(२क) महान्यायाधिवक्ताले आफ्नो सगोलको पति वा पत्नी, आमा, बाबु, छोरा वा छोरी बिरामी भएमा उपदफा (२) बमोजिम पाउने अधिकतम उपचार खर्चको रकमबाट कट्टा हुने गरी सो रकमको आधासम्म बिल बमोजिम भएको उपचार खर्चको नब्बे प्रतिशत रकम लिन पाउनेछ ।
त्यस्तो उपचार खर्चको माग गर्दा रोगको निदान (डाइग्नोसिस) गरिएको चिकित्सकको प्रमाणपत्र पेश गर्नु पर्नेछ ।
तर यस उपदफा बमोजिम पाउने उपचार खर्च एकपटकमा महान्यायाधिवक्ताको एक महिनाको पारिश्रमिक भन्दा बढी हुने छैन ।
(२ख) महान्यायाधिवक्ताले आफ्नो सगोलको पति वा पत्नी, आमा, बाबु, छोरा वा छोरी बिरामी भई विदेशमा लगी उपचार गराउनु पर्दा वा स्वदेशकै अस्पतालमा भर्ना गराई शल्यक्रिया वा उपचार गराउनु पर्दा अस्पतालमा लागेको बिल बमोजिमको खर्च र अस्पतालको चिकित्सकको प्रेसक्रिप्सन बमोजिम लागेको औषधि उपचार खर्चको नब्बे प्रतिशत रकम उपदफा (२) बमोजिम महान्यायाधिवक्ताले पाउने रकम मध्येबाट पाउनेछ ।
(२ग) उपदफा (२क) र (२ख) मा जुनसुकै कुरा लेखिएको भएतापनि महान्यायाधिवक्ताको सगोलको पति वा पत्नी, आमा वा बाबु, छोरा वा छोरी कुनै संवैधानिक पदमा वा सरकारी सेवामा वा सरकारी स्वामित्व वा नियन्त्रण भएको संस्थाको सेवामा बहालवाला कर्मचारी भएमा त्यस्तो उपचार खर्च दिइने छैन ।
(२घ) यस दफा बमोजिम उपचार खर्च माग गर्ने महान्यायाधिवक्ता कार्यालयमा उपस्थित हुन नसक्ने गरी बिरामी भएको अवस्थामा बिरामी बिदा बाँकी भएसम्म बिरामी बिदा नै माग गर्नु पर्नेछ । बिरामी बिदा नभएमा मात्र अन्य बिदा माग गर्न पाउनेछ ।
(२ङ) यस दफा बमोजिम महान्यायाधिवक्ताले पाएको उपचार खर्चको विवरण त्यस्तो महान्यायाधिवक्ताको बिदाको अभिलेख र व्यक्तिगत अभिलेखमा राखिनेछ ।
(३) नेपाल सरकारद्वारा नियुक्त चिकित्सकहरुको समितिले महान्यायाधिवक्ताको नेपाल भित्र औषधि उपचार हुन नसक्ने भनी सिफारिस गरेमा र निजले विदेशमा गई उपचार गराउन चाहेमा नेपाल सरकारले महान्यायाधिवक्तालाई उपदफा (१) बमोजिम पाउने उपचार खर्चको अतिरिक्त नेपाल सरकारले उचित ठह¥याएको थप आर्थिक सहायता दिन सक्नेछ ।
(४) महान्यायाधिवक्ताले सेवाबाट अलग हुँदा उपदफा (२) बमोजिम पाउने उपचार खर्चमध्ये केही लिई वा नलिई उपचार खर्च बाँकी रहेको भए त्यस्तो बाँकी भए जति रकमको दुई तिहाईको हिसाबले हुने एक मुष्ट रकम लिन पाउनेछ ।
तर निवृत्तभरण पाउने गरी सेवाबाट अवकाश पाएको महान्यायाधिवक्ताले त्यस्तो बाँकी भए जति पूरै रकम एकमुष्ट लिन पाउनेछ ।
(५) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि महान्यायाधिवक्ताको पदमा पाँच वर्ष सेवा नगरी सेवाबाट अलग हुने महान्यायाधिवक्तालाई उपचार खर्च दिंदा यस ऐन बमोजिम पाउने सम्पूर्ण उपचार खर्चको रकमलाई पाँच वर्ष सेवा गरे बापत पाउने रकम मानी दामासाहीले हुन आउने रकम मात्र दिइनेछ ।
(६) यस दफा बमोजिम पाउने उपचार खर्च लिन नपाउँदै महान्यायाधिवक्ताको मृत्यु भएमा दफा १८ बमोजिम पारिवारिक निवृत्तभरण वा उपदान पाउने ठहरिएको व्यक्तिले सो उपचार खर्च लिन पाउनेछ ।