दफा १०
ऋणपत्रको धनीको सम्बन्धमा शङ्का उत्पन्न भएमा वा भुक्तानी नलिएमा

(१) ऋणपत्रको धनी बारे शङ्का वा विवाद उत्पन्न भएमा साँवा भुक्तानी मिति गुज्रेको एक सय असी दिन बितेर पनि ऋणपत्रको साँवा ब्याजको भुक्तानी नलिएमा बैङ्कले आफ्नो कुनै अधिकृतद्वारा आवश्यक जाँचबुझ गर्न तथा आवश्यक व्यक्तिको बयान लिन समेत लगाई धनी मनोनीत गर्नेछ ।

(२) उपदफा (१) बमोजिम बैङ्कले धनी मनोनीत गर्नको निमित्त जाँचबुझ गर्नु पर्दा राष्ट्रिय स्तरको दैनिक पत्रिकामा सूचना प्रकाशन गर्नेछ तथा दर्तावाला व्यक्तिको ठेगानामा लिखित सूचना पठाउने छ । यसरी राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशित भएको वा सूचना पठाएको जुन पछिल्लो मिति हुन्छ सो मितिले एक सय असी दिन बितेपछि सबै हकवालाले सूचना पाएको मानिनेछ ।

(३) यस दफा अन्तर्गत बैङ्कले मनोनीत गरेको धनीको नाम राष्ट्रिय स्तरको दैनिक पत्रिकामा समेत प्रकाशन गर्नु पर्नेछ ।