नियम
ऋणपत्रको प्रतिलिपि दिने

(१) ऋणपत्र च्यातिएमा, नबुझिने भएमा वा झुुत्रिएमा, चोरिएमा, हराएमा, वा कुनै किसिमले नष्ट भएमा सम्बन्धित धनीले सिधै विभागमा वा बैङ्कको कुनै कार्यालय वा इजाजतपत्र प्राप्त बैङ्क वा वित्तीय संस्था वा बजार निर्माता मार्फत विभागमा प्रमाणपत्रको प्रतिलिपि वापत प्रति ऋणपत्रको दुई सय रुपैयाँ दस्तुर सहित देहायको विवरण खुलाई निवेदन दिनु पर्नेछः–
(क) ऋणपत्र धनीको नाम,
(ख) ऋणपत्रको नाम, क्रमसंख्या र रकम,
(ग) पछिल्लो पटक व्याज भुक्तानी लिएको मिति र स्थान,
(घ) अरुलाई दरपीठ गरी नामसारी नगरेको वा कुनै संस्थामा धितो नराखेको भनी गरेको कबुलियत,
(ङ) हराएको, चोरिएको वा नष्ट भएको व्यहोरा प्रमाणित हुने प्रहरी कार्यालयको पत्र, र
(च) नबुझिने भएको वा झुत्रिएको वा च्यातिएको भए सो को बाकी रहेको सबै भाग समावेश भएको ऋणपत्र ।
(२) उपनियम (१) बमोजिम निवेदन पर्न आएमा विभागले प्रत्येक तीन महिनामा एकपटक सो अवधिभित्र परेका सबै निवेदन समावेश गरी राष्ट्रिय स्तरको दैनिक पत्रिकामा त्यस्तो ऋणपत्रको सम्बन्धमा पूरा विवरण खोली कसैको हक लाग्ने रहेछ भने उजुरी गर्न पैंतीस दिनको म्याद दिई सूचना प्रकाशन गर्नु पर्नेछ ।
तर कुनै धनीले सूचना प्रकाशन गर्दा लाग्ने सम्पूर्ण खर्च आफैले व्यहोर्न मन्जूर गरेमा बैङ्कले तीन महिना अगाडि पनि सूचना प्रकाशन गर्न सक्नेछ ।

(२क) उपनियम (२) बमोजिम सूचना प्रकाशन गर्ने प्रयोजनको लागि धनीले देहायबमोजिमको रकम बैङ्कमा बुझाउनु पर्नेछः–
(क) बीस हजार रुपैयासम्मको ऋणपत्रको लागि दुई सय रुपैया,

(ख) बीस हजार रुपैयाभन्दा माथि पचास हजार रुपैयासम्मको ऋणपत्रको लागि एक हजार पाँचसय रुपैया,
(ग) पचास हजार रुपैयाभन्दा माथि एक लाख रुपैयासम्मको ऋणपत्रको लागि तीन हजार रुपैया,
(घ) एक लाख रुपैयाभन्दा माथि पाच लाख रुपैयासम्मको ऋणपत्रको लागि छ हजार रुपैया,
(ङ) पाच लाख रुपैयादेखि माथि जतिसुकै रुपैयाको ऋणपत्र भए तापनि पन्ध्र हजार रुपैया ।

(२ख) उपनियम (२क) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपनियम (२) बमोजिम सूचना प्रकाशन गर्न लाग्ने सम्पूर्ण खर्च धनीले व्यहोर्ने भएमा निजले उपनियम (२क) बमोजिम लाग्ने रकम बैङ्कमा बुझाउनु पर्ने छैन ।
(३) उपनियम (२) बमोजिम सूचना प्रकाशन भएको मितिले पैंतीस दिनभित्र कसैको उजुरी पर्न नआएमा विभागले निवेदकलाई सो अवधि समाप्त भएको मितिले एक सय असी दिनको अवधि व्यतित भईसकेपछि त्यस्तो ऋणपत्रको प्रमाणित प्रतिलिपि दिनुपर्नेछ ।
तर,–
(क) एक वर्षभन्दा कम अवधिको टेजरी बिलको हकमा पैंतीस दिनभित्र कसैको उजुरी पर्न नआएमा निवेदकलाई टेजरी बिलको
भुक्तानी अवधि व्यतित भएको एक महिनाभित्र आवश्यक कबुलियत गराई त्यस्तो टेजरी बिलको प्रमाणित प्रतिलिपि दिनुपर्नेछ ।
(ख) स्टक ऋणपत्रको हकमा विभागले आवश्यक जाँचबुझ गरी मनासिव देखेमा कबुलियत गराई त्यस्तो स्टक ऋणपत्रको
प्रमाणित प्रतिलिपि एक महिनाभित्र दिन सक्नेछ ।
(४) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा प्रमिशरी नोटको धनीले सो प्रमिशरी नोटको प्रतिलिपि पाउन प्रति प्रमाणपत्रको प्रतिलिपि वापत लाग्ने दुई सय रुपैया दस्तुर सहित विभाग समक्ष निवेदन दिएमा विभागले निजलाई त्यस्तो प्रमिशरी नोटको प्रतिलिपि दिनु पर्नेछः–
(क) प्रमिशरी नोटमा दरपीठ गरिदिने ठाउ बाकी नरहेमा, वा
(ख) दरपीठ अस्पष्ट वा नबुझिने भई भुक्तानी पाउनेको नाम स्पष्ट नभएमा ।