दफा २८
एउटै धितोको सम्पत्तिमा रहेका धितोको हकको प्राथमिकता
(१) यस ऐनमा अन्यथा व्यवस्था गरिएकोमा बाहेक एउटै धितोको सम्पत्तिमा एकभन्दा बढी व्यक्तिको धितोको हकको सृजना भएको अवस्थामा सूचना दर्ता भएको र सूचना दर्ता नभएको धितोको हकमध्ये सूचना दर्ता भएको धितोको हकले प्राथमिकता पाउनेछ । सूचना दर्ता भएको धितोको हकमा पनि त्यस्तो धितोको हकले धितोको हकको सूचना दर्ता गराएको समय वा धितोको हक परिपक्व भएको समय अनुसार प्राथमिकता पाउनेछ । (२) धितोको सम्पत्ति समेट्ने गरी पहिलो सूचना दर्ता गरिएको समय वा धितोको हक पहिलो पटक परिपक्व भएको समयमध्ये जुन अघिल्लो हुन्छ सो धितोको हकले प्राथमिकता पाउनेछ । धितोको हकको प्राथमिकता निर्धारणगर्दा पहिलो पटक सूचना दर्ता भए पछि वा धितोको हक परिपक्व भइसकेपछि त्यस्तो सूचना अप्रभावकारी भएको वा दफा २७ को उपदफा (१) बमोजिम त्यस्तो धितोको हकको परिपक्वताको निरन्तरता अवरुद्ध भएको हुनु हुँदैन । (३) धितोको सम्पत्तिमा पहिले आबद्ध भएको धितोको हकले यस ऐनबमोजिम सूचना प्रभावकारी नभएको वा परिपक्व भई नसकेको धितोको हकउपर प्राथमिकता पाउनेछ । (४) धितोको सम्पत्तिको सम्बन्धमा कायम भएको दर्ता वा परिपक्वताको मिति नै सो धितोको सम्पत्तिबाट प्राप्त लाभको हकमा पनि सोही दर्ता वा परिपक्वताको मिति कायम भएको मानिनेछ ।