नियम १८
एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिन सक्ने
(१) ऐनको दफा ४९ बमोजिम दुई वा सो भन्दा बढी दलले कुनै दलले प्राप्त गरेको निर्वाचन चिन्ह वा अन्य कुनै निर्वाचन चिन्ह लिई संयुक्त रुपमा निर्वाचनमा सहभागी हुने गरी नियम १५ को उपनियम (१) बमोजिमको अवधिभित्र आयोग समक्ष निवेदन दिन सक्नेछन् ।
(२) उपनियम १ बमोजिम एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिनको लागि निवेदन दिँदा त्यस्ता दलहरुको केन्द्रीय समितिको निर्णय सहित सम्बन्धित दलका प्रमुख पदाधिकारी वा अधिकार प्राप्त व्यक्तिले संयुक्त रुपमा अनुसूची–१३ बमोजिम आयोगमा निवेदन दिनु पर्नेछ ।
(३) उपनियम २ बमोजिम परेको निवेदन सम्बन्धमा आयोगले नियम १७ बमोजिम जाँचबुझ गरी ऐन तथा यस नियमावली बमोजिमको प्रकृया पूरा भएको पाएमा त्यस्ता दलहरुलाई त्यस्तो निर्वाचन प्रयोजनको लागि संयुक्त रुपमा दर्ता गर्नेछ ।
(४) उपनियम (३) बमोजिम संयुक्त रुपमा दर्ता भएको कुनै पनि दललाई सोही निर्वाचन प्रयोजनको लागि छुट्टै दलको रुपमा दर्ता गरिने छैन ।
(५) नियम १६ बमोजिम निर्वाचन प्रयोजनको लागि निवेदन दिएको दल एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिने गरी उपनियम (३) बमोजिम अर्को दलसँग संयुक्त रुपमा दर्ता भएमा त्यस्तो दललाई सो निर्वाचन प्रयोजनको लागि छुट्टै दर्ता गरिने छैन ।