दफा ६३
कारोबार प्रारम्भ गर्न स्वीकृति लिनु पर्ने
: (१) यस ऐन अन्तर्गत संस्थापित पब्लिक कम्पनीले कारोबार गर्ने स्वीकृति प्राप्त नगरी आफ्नोकारोबार प्रारम्भ गर्नु हुँदैन ।
तर सञ्चालनमा आइसकेको कुनै प्राइभेट कम्पनी पब्लिक कम्पनीमा परिणत हुँदा कारोबार गर्ने स्वीकृति लिन आवश्यक पर्ने छैन।
(२) उपदफा (१) बमोजिम स्वीकृति पाउनको लागि पब्लिक कम्पनीको संस्थापकले खरिद
गर्न कबुल गरेको शेयर बापतको रकम मध्ये माग भएको पुरा रकम चुक्ता भईसकेको प्रमाण
समावेश गरी कार्यालय समक्ष निवेदन दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम निवेदन परेकोमा संस्थापकहरुले खरिद गर्न कबुल गरेको शेयर
बापतको रकममध्ये माग भएको रकम चुक्ता भएको प्रमाणित भएमा कार्यालयले कारोबार गर्ने
स्वीकृति प्रदान गर्नेछ ।
तर शेयर बापत चुक्ता भएको रकम दफा ११ को उपदफा (१) मा उल्लेख भएको
रकमभन्दा कम हुने भएमा स्वीकृति दिने छैन ।
(४) यस दफा बमोजिम कारोबार प्रारम्भ गर्न स्वीकृति नलिई विशेष साधारण सभा,
सञ्चालक समितिको बैठक, कम्पनीको व्यवस्थापन जस्ता कुरा बाहेक विवरणपत्र प्रकाशन गर्ने वा
दायित्व सिर्जना हुने कुनै किसिमका कार्य गर्नु हुँदैन ।
(५) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै खास व्यवसाय सञ्चालन
गर्ने कम्पनीको हकमा प्रचलित कानून बमोजिम त्यस्तो व्यवसाय नियमित गर्ने अधिकारप्राप्त
नियमनकारी निकायबाट इजाजतपत्र प्रदान गर्दा त्यस्तो व्यवसाय शुरु गर्नुअघि कुनै शर्त निर्धारण
गरिएको भए त्यस्तो शर्त पुरा गरेको प्रमाण पेश नभएसम्म कारोबार शुरु गर्ने स्वीकृति प्रदान
गरिने छैन ।
(६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि प्राइभेट कम्पनीले कार्यालयमा
दर्ता भएको प्रमाणपत्र पाउना साथ आफ्नोकारोबार शुरु गर्न सक्नेछ ।
तर कुनै खास कारोबार गर्न प्रचलित कानून बमोजिम कुनै सम्बन्धित निकायबाट
स्वीकृति लिनु पर्ने भएमा त्यस्तो स्वीकृति लिएपछि मात्र कारोबार शुरु गर्नु पर्नेछ ।