दफा ३२
कारोबारको फर्स्यौट
(१) बैङ्क वा संस्थाले प्रत्येक भुक्तानी आदेश वा प्रत्येक भुक्तानी कारोबारको फर्स्यौट गर्दा त्यस्तो आदेश वा कारोबार वास्तविक समय (‍रियल टाइम) मा छुट्टाछुट्टै तरिकाले फर्स्यौट गर्नुपर्नेछ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बैङ्क वा संस्थाले कारोबारको फर्स्यौट गर्दा निश्चित समयको अन्तरालभित्र प्राप्त भुक्तानी आदेश वा भुक्तानी कारोबारलार्इ भुक्तानीसँग सम्बन्धित खाता डेबिट वा क्रेडिट नेटिङ्गको आधारमा एकमुष्ठ रूपमा अन्तराल हिसाब गरी कारोबारको फर्स्यौट गर्न सक्नेछ।
स्पष्टीकरणः यस उपदफाको प्रयोजनको लागि “नेटिङ्ग” भन्नाले बैङ्कले तोकेको प्रक्रिया बमोजिम निश्चित अवधिमा भुक्तानी तथा फर्स्यौट कार्यमा संलग्न कम्पनीहरु बीच भएको कारोबारको बैङ्क मार्फत खुद हिसाब मिलान गर्ने प्रणाली सम्झनु पर्छ।
(३) नगद, ट्रान्सफर र स्वीफ्ट कारोबारको फर्स्यौट उपदफा (१) बमोजिम र विद्युतीय चेक राफसाफ (क्लियरिङ्ग) मार्फत हुने दैनिक कारोबारको फर्स्यौट उपदफा (२) बमोजिम गर्नुपर्नेछ।
(४) आरटिजिएस बमोजिम हुने ठूलो मूल्य भुक्तानी कारोबारको फर्स्यौट उपदफा (१) बमोजिम हुनेछ।
(५) विद्युतीय चेक राफसाफ (क्लियरिङ्ग) गर्दा समाशोधन गृह (क्लियरिङ हाउस) मार्फत हुने कारोबार बैङ्कले तोकेबमोजिम कुल फर्स्यौट वा खुद फर्स्यौट विधि मार्फत गर्नुपर्नेछ।
स्पष्टीकरणः यस उपदफाको प्रयोजनको लागि “कुल फर्स्यौट” भन्नाले सेवाग्राहीको आदेश बमोजिम छुट्टाछुट्टै तरिकाले गरिने कारोबारको फर्स्यौट र “खुद फर्स्यौट” भन्नाले निश्चित समय अन्तरालमा वा बैङ्कले निर्धारण गरे बमोजिम कारोबारको एकमुष्ठ फर्स्यौट सम्झनु पर्छ।
(६) धितोपत्र तथा ऋणपत्रको निष्कासन, ब्याज गणना, लाभांश भुक्तानी, सावाँ तथा ब्याज भुक्तानी, स्वामित्व हस्तान्तरण तथा खरिद बिक्री सम्बन्धी कारोबारको फर्स्यौट धितोपत्र तथा ऋणपत्र सम्बन्धी प्रचलित कानून बमोजिम हुनेछ।