नियम ६५
कार्य सम्पादनको मूल्याङ्कन

(१) कर्मचारीको कार्य सम्पादनको मूल्याङ्कनको लागि प्रयोग गरिने कार्य सम्पादनको मूल्याङ्कन फाराम अनुसूची—११ बमोजिम हुनेछ । (२) कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन राजपत्रांकित कर्मचारीको हकमा अर्धवार्षिक र वार्षिक तथा अन्य कर्मचारीको हकमा वार्षिक रूपमा गरिनेछ ।
(३) कर्मचारीको कार्य सम्पादनको मूल्याङ्कनको लागि मूल्याङ्कन गरिने कर्मचारी भन्दा कम्तीमा एक श्रेणीमाथिको सम्बन्धित अधिकृत सुपरीवेक्षक हुनेछ र सुपरीवेक्षक भन्दा एक श्रेणी माथिको सम्बन्धित अधिकृत पुनरावलोकनकर्ता हुनेछ ।
(४) राजपत्र अनंकित कर्मचारीको कार्य सम्पादनको मूल्याङ्कनको लागि देहायको पुनरावलोकन समिति रहनेछ :—
(क) राजपत्रांकित प्रथम श्रेणीको सम्बन्धित अधिकृत — अध्यक्ष
(ख) सम्बन्धित पुनरावलोकनकर्ता — सदस्य
(ग) सम्बन्धित सुपरीवेक्षक — सदस्य
(५) राजपत्रांकित तहका कर्मचारीको कार्य सम्पादन मूल्याङ्कनको लागि देहायको पुनरावलोकन समिति रहनेछ ।
(क) महासचिव — अध्यक्ष
(ख) सम्बन्धित पुनरावलोकनकर्ता — सदस्य
(ग) सम्बन्धित सुपरीवेक्षक — सदस्य
तर राजपत्रांकित प्रथम श्रेणीको कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन गर्दा महासचिव अध्यक्ष र सचिवालय सचिव सदस्य रहेको समितिले पुनरावलोकन समितिको कार्य गर्नेछ ।
(६) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सचिवालयका राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीको सुपरीवेक्षक र पुनरावलोकनकर्ताको हैसियतले कार्यसम्पादन मूल्याङ्कन गर्ने कुनै पदाधिकारी नरहेको अवस्थामा महासचिव वा महासचिवको पद रिक्त रहेको अवस्थामा निजले गर्ने काम गर्न तोकिएको पदाधिकारीले नै त्यस्ता कर्मचारीको सुपरीवेक्षक, पुनरावलोकनकर्ता र पुनरावलोकन समितिको रूपमा समेत कार्यसम्पादन मूल्याङ्कन गर्न कुनै बाधा पुगेको मानिने छैन ।
(७) कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन गरी दिइने कूल ५० अंकबाट मूल्याङ्कनकर्ताले दिन सक्ने अधिकतम अंक विभाजन देहाय बमोजिम हुनेछ :—
सुपरीवेक्षकले तीस अंक पुनरावलोकनकर्ताले दश अंक पुनरावलोकन समितिले दश अंक
(८) सुपरीवेक्षक, पुनरावलोकनकर्ता र पुनरावलोकन समितिले कर्मचारीहरूको कार्य सम्पादन वापत अङ्क दिंदा कार्य सम्पादनको मूल्याङ्कन फाराममा उल्लिखित आधार अनुरूप दिनु पर्नेछ ।
(९) राजपत्राङ्कित विशिष्ट श्रेणीमा कार्यरत कर्मचारीको कार्य सम्पादन मूल्याङ्कनको लागि महासचिवले नै सुपरीवेक्षक, पुनरावलोकनकर्ता र पुनरावलोकन समितिको समेत काम गर्नेछ ।
(१०) सम्भाव्य उम्मेदवार हुने अवधि (आषाढ मसान्त) बकाहेक बढुवाको अङ्क दरखास्त दिने अन्तिम म्याद सम्मको मात्र गणना गरिनेछ ।
(११) सेवावाट हटाईएको वा वरखास्त गरिएको कर्मचारी अदालतबाट पुनर्वहाली भएमा सेवाबाट हटाउनु वा वरखास्त गर्नु भन्दा तत्काल अघिल्लो वर्षको कार्य सम्पादन मूल्याङ्कनमा निजले जति अंक पाएको थियो सोही अंक नै सेवामा नरहेको अवधिकोलागि पनि गणना गरिनेछ ।
(१२) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो नियमावली प्रारम्भ हुनु भन्दा अगाडिका वर्षमा मूल्याङ्कन हुन वाँकी अवधिको कार्य सम्पादन यो नियमावली प्रारम्भ भएको मितिले तीन महिनाभित्र यसै नियमावली बमोजिम मूल्याङ्कन गरी एक प्रति बढुवा समितिको सचिवालयमा र एकप्रति कर्मचारी प्रशासन शाखामा राख्नु पर्नेछ ।
(१३) पुनरावलोकन समितिले राजपत्राङ्कित कर्मचारीहरूको कार्य सम्पादनको मूल्याङ्कन फारामको सम्बन्धमा देहाय बमोजिमको प्रक्रिया अपनाउन सक्नेछ ः-
(क) पेश हुन आएका कार्य सम्पादनको मूल्याङ्कन फारामहरू छानबीन गरी सो फारामहरूमा कार्य सम्पादन र अङ्क वितरण बीच सामञ्जस्य कायम गर्ने,
(ख) कुनै निकायको समष्टिगत उपलव्धी र त्यसमा कार्यरत कर्मचारीको कार्य सम्पादनको मूल्याङ्कन वीचको पारस्परिक सम्बन्धमाथि विचार गर्ने,
(ग) पेश हुन आएका कार्य सम्पादन मूल्याङ्कन फारामहरूमा आवश्यक देखिएमा पुनरावलोकनकर्ता वा सुपरीवेक्षकसँग पुष्ट्याँईको माग गर्ने वा पुन विचारको लागि निजकहाँ पठाउने ।