१२. कार्यकारी प्रमुख सिफारिस सम्बन्धी व्यवस्था
(१) दफा ११ बमोजिमको सिफारिस समितिले सार्वजनिक संस्थानका कार्यकारी प्रमुखको सिफारिस गर्दा बोर्डको सिफारिसमा नेपाल सरकारले स्वीकृत गरे बमोजिमको कार्यविधिको पालना गर्नु पर्नेछ ।
(२) सम्बन्धित सार्वजनिक संस्थानको गठन, सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानूनमा अन्यथा व्यवस्था भएकोमा बाहेक सार्वजनिक संस्थानको कार्यकारी प्रमुखको उम्मेदवार हुन मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर गरेको र सम्बन्धित क्षेत्रमा वा प्रशासन, व्यवस्थापन, व्यापार, वित्त, उत्पादन, इन्जिनियरिङ्ग वा कानूनको क्षेत्रमा अधिकृतस्तरमा कम्तीमा दश वर्षको अनुभव प्राप्त गरेको हुनु पर्नेछ ।
(३) कार्यकारी प्रमुख सिफारिस समितिले यस दफा बमोजिम सार्वजनिक संस्थानको कार्यकारी प्रमुख पदमा नियुक्तिको लागि उपयुक्त उम्मेदवार छनौट गर्दा निजको योग्यता र अनुभव, संस्थानको सञ्चालन र व्यवस्थापन सम्बन्धी व्यवसायिक तथा वित्तीय योजना, अन्तरवार्ता तथा प्रस्तुतीकरणका आधारमा उम्मेदवारको मूल्याङ्कन गरी प्रत्येक पदको लागि सबैभन्दा बढी अङ्क प्राप्त गर्ने तीन जना योग्य उम्मेदवारहरूको छनौट गरी वर्णानुक्रमानुसार नेपाल सरकार समक्ष सिफारिस गर्नेछ । व्यावसायिक तथा वित्तिय कार्ययोजनाको प्रस्तावमा न्यूनतम रुपमा समावेश हुनुपर्ने विषयहरू अनुसूची –३ अनुसार हुनेछ ।
(४) उपदफा (३) बमोजिमको मूल्याङ्कन सम्बन्धी अङ्कभार देहाय बमोजिम हुनेछ ः–
(क) न्यूनतम शैक्षिक योग्यता बापत – १२० अङ्क
(ख) व्यावसायिक तथा वित्तीय कार्ययोजना बापत – ६० अङ्क
(ग) प्रस्तुतिकरण तथा अन्तरवार्ता बापत – ३० अङ्क
(५) उपदफा (४) को खण्ड (ख) मा उल्लेखित व्यावसायिक तथा वित्तीय कार्ययोजना बापतको अङ्क देहाय बमोजिम वितरण हुनेछः–
(क) सम्बन्धित संस्थानको परिचय तथा विद्यमान कार्य सञ्चालनको अवस्था सम्भव भएसम्म तथ्याङ्कीय विवरण सहितको
(Performance status with time series data) – ५ अङ्क
(ख) विद्यमान कार्यसञ्चालन अवस्थामा पुग्नुका कारणहरूको पहिचान र विश्लेषण (Identification and analysis of reasons behind the status of given performance) १०अङ्क
(ग) संस्थाको विद्यमान अवस्थामा देखिएका समस्या, कमिकमजोरी, अवसर र चुनौतिहरुको गहन विश्लेषण (SWOT with in depth analysis) – २० अङ्क
(घ) रणनैतिक सुधार गर्नुपर्ने क्षेत्रहरुको विश्लेषण(Major areas of strategic reform) –५ अङ्क
(ङ) विशेषतः उत्पादकत्वमा अभिवृद्धि ( Productivity Enhancement) , प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि ( Competitive Strength Building), औद्योगिक सम्बन्ध ( Industrial Harmonial), मानव संसाधन व्यवस्थापन, वित्तीय व्यवस्थापन,
चुहावट नियन्त्रण, प्रशासकीय शिरोभार खर्च घटाउनका लागि विशेष व्यवस्था ( Austerity measures) स्रोत परिचालन समेत
समावेश भएको समयसारिणी सहितको कार्ययोजना (Action Plan) – २० अङ्क
(६) कार्यकारी प्रमुख सिफारिस समितिले उपदफा (४) बमोजिम मूल्याङ्कन गर्दा दुई वा सो भन्दा बढी उम्मेदवारले समान अङ्क प्राप्त गरेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको पेशागत तालीम प्राप्त गरेको, सम्बन्धित क्षेत्रको कार्यमा विशेष अनुभव, रुची तथा योगदान भएको, उच्च नैतिक मूल्य भई उच्चस्तरको सामाजिक प्रतिष्ठा भएको तथा प्रतिष्ठित राष्ट्रिय वा अन्तर्राष्ट्रिय सरकारी वा गैरसरकारी संगठनमा उत्कृष्ट कार्यसम्पादन गरेको उम्मेदवारलाई सिफारिस गर्नेछ ।
(७) सम्बन्धित सार्वजनिक संस्थानको गठन, सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानूनमा अन्यथा व्यवस्था भएकोमा बाहेक सार्वजनिक संस्थानको कार्यकारी प्रमुखको निमित्त देहायको व्यक्ति उम्मेदवार हुन अयोग्य मानिनेछ ः–
(क) गैर नेपाली नागरिक,
(ख) तीस वर्ष उमेर पूरा नभएको वा साठी वर्ष उमेर पूरा भएको,
(ग) कुनै राजनीतिक दलको सदस्य भएको, (घ) मानसिक सन्तुलन बिग्रेको वा बहुलाएको,
(ङ) सार्वजनिक संस्थानसँगको ठेक्कापट्टा वा कुनै चल अचल सम्पत्ति सम्बन्धी कारोबारमा निज आफैं वा निजको परिवारका कुनै
सदस्यको संलग्नता भएको वा सो संस्थानसँग निजी स्वार्थ रहेको,
(च) निजको नाममा व्यक्तिगत बेरुजु बाँकी रहेको,
(छ) भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण वा नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसूरदार ठहर भएको, वा
(ज) नियतवस बैंक तथा वित्तीय संस्थाको ऋण नतिरी प्रचलित कानून बमोजिम कालोसूचीमा परेको ।
(८) उमेदवारले व्यावसायिक तथा वित्तीय कार्ययोजना प्रस्ताव र वित्तीय प्रस्ताव छुट्टाछुट्टै खामबन्दी रुपमा पेश गर्नु पर्नेछ ।
(९) उमेदवारले वित्तीय प्रस्तावमा आफूले अपेक्षा गरेको पारिश्रमिक लगायत अन्य सुविधाहरु उल्लेख गर्नुपर्नेछ । पारिश्रमिक रकम निर्धारण गर्दा समग्र कार्यसम्पादनमा आधारित ( Performance based) बनाउने तर्फ ध्यान दिनुपर्नेछ । (१०) उपदफा (९) बमोजिम प्रस्ताव गरिएको पारिश्रमिक तथा सुविधाहरुको विषयमा नियुक्तिका लागि छनौट भएका उमेदवारसँग वार्ता गर्न सकिनेछ । वार्ताद्वारा पारिश्रमिक तथा अन्य सुविधा निर्धारण हुन नसकेको अवस्थामा नियुक्ति दिने अधिकारीले सो निुयक्तिलाई बदर गर्न सक्नेछ ।
(११) संस्थानमा कार्यरत कर्मचारी सोही संस्थानको कार्यकारी प्रमुखमा नियुक्ति भएमा संस्थानमा रहेको निजको पदाधिकार सम्बन्धित संस्थाको ऐनले कायम रहनु पर्ने गरी व्यवस्था गरेको अवस्थामा बाहेक कायम रहने छैन ।