१३. कार्यकारी प्रमुखको नियुक्ति सम्बन्धी व्यवस्था ः
(१) नेपाल सरकारले प्रचलित कानून बमोजिम सार्वजनिक संस्थानका कार्यकारी प्रमुख नियुक्त गर्दा दफा ११ बमोजिमको सिफारिस समितिको सिफारिसमा गर्नेछ ।
(२) उपदफा (१) बमोजिम नियुक्त गर्दा सार्वजनिक संस्थान कार्यकारी प्रमुख सिफारिस समितिले सिफारिस गरेका तीन जना उमेदवारहरूमध्ये कार्यकुशलता, व्यावसायिक दक्षता तथा नेतृत्व क्षमताका आधारमा उपयुक्त ठहरिएको उम्मेदवारलाई गर्नु पर्नेछ ।
(३) सार्वजनिक संस्थानको स्थापना, सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानूनमा अन्यथा व्यवस्था भएकोमा बाहेक सार्वजनिक संस्थानका कार्यकारी प्रमुखको कार्यकाल चार वर्षको हुनेछ ।
(४) यो आदेशमा अन्यत्र जेसुकै लेखेको भए तापनि नेपाल सरकारले निजामती सेवाको राजपत्रांकित प्रथम श्रेणी वा सोभन्दा माथिल्लो पदमा कार्यरत कर्मचारीलाई निजको पदाधिकार कायमै राखी सार्वजनिक संस्थानको रिक्त कार्यकारी प्रमुखमा नियुक्त गर्न बाधा पर्ने छैन । यसरी भएको नियुक्तिलाई पद रिक्त भएको मानी बोर्डले उम्मेदवार छनौट गर्न सक्नेछ र यो नियुक्ति बोर्डबाट उम्मेदवार सिफारिस भई नआए सम्मका लागि मात्र कायम रहनेछ ।