दफा १२
कार्यकारी प्रमुख
(१) नेपाल सरकारले प्राधिकरणको प्रशासकीय प्रमुखको रुपमा काम गर्न नेपाल सरकारद्वारा मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि हासिल गरेको र सम्बन्धित क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव भएको व्यक्तिलाई उपदफा (२) बमोजिमको समितिको सिफारिसमा कार्यकारी प्रमुखको रूपमा नियुक्त गर्नेछ।
(२) नेपाल सरकारले कार्यकारी प्रमुखको नियुक्तिको लागि उपयुक्त व्यक्तिको नाम सिफारिस गर्न मन्त्रालयको सचिवको संयोजकत्वमा अन्य दुईजना विज्ञ सदस्य रहेको समिति गठन गर्नेछ। कार्यकारी प्रमुखको नियुक्तिको लागि सिफारिस गर्दा अवलम्बन गर्ने प्रक्रिया तथा बैठक सम्बन्धी कार्यविधि सो समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ।
(३) कार्यकारी प्रमुखको पदावधि पाँच वर्षको हुनेछ।
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यकारी प्रमुखको कार्यसम्पादन सन्तोषजनक नभएमा नेपाल सरकारले निजलाई जुनसुकै बखत कार्यकारी प्रमुखको पदबाट हटाउन सक्नेछ।
(५) उपदफा (४) बमोजिम कार्यकारी प्रमुखको पदबाट हटाउनु अघि निजलाई सफाइ पेश गर्ने मनासिब मौका दिनु पर्नेछ।
(६) कार्यकारी प्रमुखले कार्यकारी समितिको प्रत्यक्ष नियन्त्रणमा रही कार्य गर्नेछ र आफ्नो कार्यसम्पादनका लागि परिषद् र नेपाल सरकार प्रति जवाफदेही हुनेछ।
(७) कार्यकारी प्रमुखले विपद्को समयमा विपद् प्रतिकार्य नियन्त्रकको रूपमा कार्य गर्नेछ।
(८) कार्यकारी प्रमुखको पारिश्रमिक, सुविधा, सेवाको शर्त तथा काम, कर्तव्य र अधिकार सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ।