दफा
कार्यविधि

जग्गा नाप नक्सा गरी दर्ता गर्नका लागि खटिएको नापी टोलीले देहाय बमोजिमको कार्यविधि अपनाउनु पर्नेछ :-

(क)   समितिको कार्य क्षेत्रभित्र परेको जग्गा नाप नक्सा शुरु गरिने विषयको सात दिने सूचना सम्बन्धित गाउँपालिका र नाप गर्ने स्थानमा सबैले देख्ने गरी प्रकाशन गर्ने,

(ख)   खण्ड (क) बमोजिमको सूचना प्रकाशित भएपछि सम्बन्धित गाउँपालिकाको प्रतिनिधि समेतको रोहवरमा जग्गाको साँध सिमाना यकिन गर्ने, नक्सा गर्ने, फिल्डबुक तथा प्लट रजिष्टर तयार गर्ने,

(ग)   जग्गा नाप नक्साको काम समाप्त भएपछि दाबी उजूरीको लागि जग्गा (नाप जाँच) नियमावली, २०५८ को अनुसूची-२ बमोजिम सात दिने सूचना प्रकाशन गर्ने,

(घ)   खण्ड (ग) बमोजिम प्रकाशित सूचनामा चित्त नबुझ्ने पक्षले जग्गा (नाप जाँच) नियमावली, २०५८ को अनुसूची-५ को ढाँचामा समिति समक्ष दिएको उजूरी दर्ता गरी सो उपर सात दिनभित्र आवश्यक निर्णय गर्ने,

(ङ)   खण्ड (ग) बमोजिम प्रकाशित सूचनाको म्यादभित्र कुनै दाबी उजूर नपरेमा वा दाबी उजूर परेकोमा खण्ड (घ) बमोजिमको निर्णय पश्चात् जग्गा (नाप जाँच) नियमावली, २०५८ को अनुसूची-३ बमोजिमको ढाँचामा क्षेत्रीय किताबमा दर्ता गर्ने ।