नियम ६७
कार्यसम्पादन मूल्याङ्कन गर्ने अवधि

(१) कर्मचारीले प्रत्येक वर्ष श्रावण सात गते भित्र आफ्नो वार्षिक कार्यसम्पादन मूल्याङ्कन फाराम भरी कार्यालयमा दर्ता गरी सुपरीवेक्षक समक्ष पेश गर्नु पर्नेछ । यसरी कार्यालयमा दर्ता भएपछि सो फाराम दर्ता भएको भरपाई सम्बन्धित कर्मचारीलाई दिनु पर्नेछ ।
(२) सुपरीवेक्षकले श्रावण मसान्त भित्र मूल्याङ्कन गरी पुनरावलोकनकर्ता समक्ष पेश गरी सक्नु पर्नेछ ।
(३) राजपत्रांकित कर्मचारीले प्रत्येक अर्ध वार्षिक अवधि समाप्त भए पछि माघ महिनाको सात गते भित्र आफ्नो अर्धवार्षिक कार्यसम्पादन मूल्याङ्कन फाराम भरी सचिवालयमा दर्ता गरी सुपरीवेक्षक समक्ष पेश गर्नु पर्नेछ । त्यसरी पेश भएको अर्धवार्षिक कार्य सम्पादन मूल्याङ्कन फाराममा अर्को सात दिन भित्रमा सुपरीवेक्षकले मूल्याङ्कन गरी सम्बन्धित कर्मचारीलाई पृष्ठपोषण दिनु पर्नेछ । राजपत्राकिंत कर्मचारीले वार्षिक कार्य सम्पादन मूल्याङ्कन फारामका साथमा अर्धवार्षिक कार्य सम्पादन मूल्याङ्कन फाराम पनि संलग्न गरी सुपरीवेक्षक समक्ष पेश गर्नु पर्नेछ ।
(४) सुपरीवेक्षकले राजपत्रांकित कर्मचारीको वार्षिक कार्य सम्पादन मूल्याङ्कन फारामको मूल्याङ्कन गर्दा उपनियम (३) बमोजिम भरेको अर्ध वार्षिक कार्य सम्पादन मूल्याङ्कन फारामहरूलाई समेत आधार लिनु पर्नेछ ।
(५) पुनरावलोकनकर्ताले उपनियम (२) बमोजिम प्राप्त हुन आएको कार्यसम्पादन मूल्याङ्कन फाराम भाद्र पन्ध्र गतेभित्र पुनरावलोकन गरी पुनरावलोकन समिति समक्ष बुझाई सक्नु पर्नेछ । पुनरावलोकन समितिले भाद्र मसान्त भित्र पुनरावलोकन गरी बढुवा समिति समक्ष बुझाई सक्नु पर्नेछ । यसरी पुनरावलोकन समितिबाट मूल्याङ्कन भएको कर्मचारीको नामावली विवरण पुनरावलोकन समितिको सचिवालयले आफ्नो सूचना पाटीमा तथा उपलव्ध भएसम्म विद्युतीय सूचना प्रणाली (वेभसाइट) मा समेत प्रकाशन गर्नु पर्नेछ ।
(६) समय भित्र कुनै कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन फाराम पेश हुन वा दाखिल हुन नआएको कारणले बढुवा समितिले आफ्नो काम कारबाही रोक्न बाध्य हुने छैन ।
(७) ऐनको दफा ३२ को उपदफा (६) बमोजिम म्याद थप गर्ने समय पछि कार्यसम्पादन मूल्याङ्कन फाराम दर्ता गर्दा उक्त आर्थिक वर्ष भित्रै सचिवालयमा दर्ता गरि सक्नु पर्नेछ । सो आर्थिक वर्ष पछि कार्य सम्पादन मूल्याङ्कन फाराम दर्ता भएमा त्यस्ता
फारामलाई मान्यता दिइने छैन । तर यो नियम प्रारम्भ हुनु भन्दा अगाडीका वर्षको छूट भएको कार्य सम्पादन मूल्याङ्कन यो नियम प्रारम्भ भएको मितिले तीन महिना भित्रमा दर्ता गरी मूल्याङ्कन गरी सक्नु पर्नेछ ।
(८) कुनै कर्मचारीले कुनै वर्षको कार्य सम्पादन मूल्याङ्कन फाराम नभरेमा त्यस आर्थिक वर्षको कार्यसम्पादन मूल्याङ्कन वापत निजलाई सो आर्थिक वर्षको लागि पूर्णाङ्कको पचास प्रतिशत अंक दिइनेछ ।
(९) उपनियम (१), (२), (३), (४) र (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि कर्मचारीले समयावधि भित्र आफ्नो कार्यसम्पादन मूल्याङ्कन फाराम दर्ता गरी सुपरीवेक्षक समक्ष पेश गरेको तर सम्बन्धित मूल्याङ्कनकर्ताहरूबाट समयावधि भित्र मूल्याङ्कन भएको रहेनछ भने महासचिवले कारण खुलाइ हालको मूल्याङ्कनकर्ताबाट मूल्याङ्कन गराउन सक्नेछ ।
(१०) कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन गर्नको लागि पुनरावलोकन समितिको बैठक राख्ने जिम्मेवारी महासचिवको हुनेछ ।