नियम ३९
कार्यालय समय, समय पालन र हाजिरी

(१) सचिवालयको लागि कार्यालय समय नेपाल सरकारले सरकारी कार्यालयहरूको लागि नेपाल राजपत्रमा सूचना प्रकाशन गरी निर्धारण गरे बमोजिम हुनेछ ।
(२) उपनियम (१) बमोजिम निर्धारित समयमा कार्यालयमा नआउने र कार्यालयमा पटक पटक ढिलो आउने, कार्यालयवाट पटक पटक चाँडो जाने तथा कार्यालयको काममा बाहेक कार्यालय समयमा स्वीकृति नलिई कार्यालय छोड्ने कर्मचारीलाई महासचिवले गयल कट्टी गर्नेछ । तर महिनाको तीन पटकसम्म निर्धारित समय भन्दा पन्ध्र मिनेटसम्म ढिला गरी आउने कर्मचारीलाई महासचिवले सोको अभिलेख राखी हाजिर गर्न दिन सक्नेछ ।
(३) मुनासिब माफिकको कारण परेमा बाहेक बिदाको स्विकृति नलिई कुनै पनि कर्मचारी सचिवालयमा अनुपस्थित हुनु हुँदैन । यसरी अनुपस्थित हुने कर्मचारीले सात दिन भित्र बिदाको निवेदन दिनु पर्नेछ ।