नियम
कोषको कार्य
कोषले आफ्नो उद्देश्य पूरा गर्न देहायका कार्य गर्नेछ :-
(क) स्वरोजगार बन्न चाहने लक्षित समुदायका युवा तथा साना व्यवसायीलाई श्रम, सीप र उत्पादनमूलक कार्यमा लगाई स्थानीय स्रोत साधनको अधिकतम उपयोग गर्दै रोजगारीका अवसर सिर्जना गरी सामाजिक, सांस्कृतिक, आर्थिक रुपान्तरण र विकास कार्यमा परिचालन गर्ने,
(ख) लक्षित समुदायमा परम्परागत पेशा र सीप विकास तथा व्यवसाय प्रवर्द्धनको लागि सहुलियत दरमा क्रण लगानी गर्ने,
(ग) स्थानीय सीप र कच्चा पदार्थमा आधारित तथा स्थानीयस्तरमा उत्पादन हुने वस्तुको व्यवसायीकरणमा योगदान पुग्ने कार्यक्रम सञ्चालन गर्ने,
(घ) नेपाल सरकारले पहिचान गरेको गरिब परिवारलाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्ने,
(ङ) रोजगार प्रवर्द्धन गर्ने व्यवसाय, सामूहिक कृषि तथा पशुपालन लगायतका निर्यातमूलक वा आयात प्रतिस्थापन गर्ने उत्पादनशील व्यवसायमा लगानी गर्ने,
(च) वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिले सञ्चालन गर्ने साना व्यवसायका लागि 'क्रण लगानी गर्ने ।