नियम १७
क्षेत्रको परित्याग
: (१) ठेकेदारले देहायबमोजिम क्षेत्र परित्याग गर्नु पर्नेछ :
(क) प्राथमिक अन्वेषण अवधिको अन्त्यसम्ममा उत्पादन क्षेत्रमा पर्ने क्षेत्र  बाहेक शुरु करार क्षेत्रको कम्तीमा पचास (५०) प्रतिशत ।
(ख) पहिलो पटक थप भएको अन्वेषण अवधिको अन्त्य सम्ममा उत्पादन क्षेत्रमा पर्ने क्षेत्र बाहेक शुरु करार क्षेत्रको कम्तीमा पच्चीस (२५) प्रतिशत ।
(ग) नियम १६ को उपनियम (२) को अधीनमा रही अन्वेषण अवधिको अन्त्य सम्ममा उत्पादन क्षेत्रमा पर्ने क्षेत्रबाहेक शुरु करार क्षेत्रको बाँकी सबै क्षेत्र ।
स्पष्टीकरण : उपनियम (१) को प्रयोजनको लागि उत्पादन क्षेत्र भन्नाले उत्पादन अनुमतिको निवेदन विचाराधीन रहेको अवस्थामा त्यस्तो निवेदनमा उल्लिखित क्षेत्रलाई समेत जनाउँछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि समय समयमा परित्याग गरिने प्रत्येक क्षेत्र शुरु करार क्षेत्रको (१०) प्रतिशतभन्दा कम हुनु हुँदैन र एकै चक्ला परेको हुनु पर्नेछ ।
(३) ठेकेदारले कुनै स्थलमा सम्भाव्यता कार्य पूरा भएपछि पनि उत्पादन अनुमतिको लागि निवेदन नगरेमा नेपाल सरकारलाई पेट्रोलियम सम्झौतामा मञ्जुर गरिएबमोजिम त्यस्तो स्थलसहितको थप क्षेत्र परित्याग गर्न ठेकेदारलाई आदेश दिने अधिकार हुनेछ । त्यस्तो आदेश भएकोमा ठेकेदारले पेट्रोलियम सम्झौतामा लेखिएबमोजिम त्यस्तो क्षेत्र परित्याग गर्नु
पर्नेछ ।
(४) अन्वेषण अवधिभित्र ठेकेदारले कुनैपनि समयमा करार क्षेत्रको कुनै खण्ड परित्याग गर्न सक्नेछ र त्यस्तो सबै स्वेच्छिक परित्याग उपनियम (१) मा तोकिएको अनिवार्य परित्यागमा समावेश गरिनेछ ।