दफा
खनिज कार्यगर्ने अनुमति

(१) यो ऐन र यस ऐनअन्तर्गत बनेको नियमहरुको अधीनमा रही खनिज कार्य गर्न चाहने व्यक्तिले गुणस्तर तथा परिमाण यकीन भई नसकेको खनिज पदार्थको हकमा सर्वप्रथम खोजतलास कार्य गर्ने अनुमतिको लागि र गुणस्तर तथा परिमाण यकीन भई सकेको खनिज पदार्थको हकमा उत्खनन् कार्यको प्रस्तावित योजनासमेत संलग्न गरी उत्खनन् कार्य गर्ने अनुमतिको लागि तोकिएको ढाँचामा विभागमा निवेदन दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको निवेदन प्राप्त भएपछि विभागले आवश्यक जाँचबुझ गरी निवेदन दिने व्यक्ति आर्थिक एवं प्राविधिक क्षमता भएको र खनिज कार्य गर्न आवश्यक योग्यता भएको देखिएमा निजलाई तोकिएको ढाँचामा तोकिएको दस्तुर लिई खनिज कार्य गर्ने अनुमति दिन सक्नेछ ।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै खास खनिज पदार्थको सम्बन्धमा विभागले उपयुक्त देखेमा खनिज कार्यको लागि आवश्यक आर्थिक एवं प्राविधिक क्षमता तथा योग्यता भएको व्यक्तिसंग खनिज सम्झौता गरी निजलाई तोकिएको ढाँचामा तोकिए को दस्तुर लिई खनिज कार्य गर्ने अनुमति दिन सक्नेछ ।
(४) यस दफाबमोजिम खोजतलास कार्य गर्ने अनुमति प्राप्त व्यक्तिले उत्खनन्कार्य गर्ने अनुमति लिन चाहेमा खोजतलास अवधि समाप्त हुनु अगावै खोजतलास कार्यको विस्तृत प्रतिवेदन तथा उत्खनन्कार्यको योजना समेत संलग्न गरी तोकिएको ढाँचामा विभागमा निवेदन
दिनुपर्नेछ ।
(५) उपदफा (४) बमोजिमको निवेदन प्राप्त भएपछि विभागले आवश्यक जाँचबुझ गर्दा उत्खनन्कार्यको योजना उपयुक्त देखेमा तोकिएको ढाँचामा तोकिएको दस्तुर लिई उत्खनन्कार्य गर्ने अनुमति दिनेछ ।
(६) विभागले खोजतलास कार्य गरी पत्ता लगाएको गुण र परिमाणसमेत यकीन भई सकेको खनिज पदार्थको उत्खनन् कार्य गर्ने अनुमति लिन चाहने व्यक्तिसंग नेपाल सरकारले चाहेमा त्यस्तो खोजतलास कार्यमा लागेको प्रत्यक्ष खर्च बराबरको रकम वा शेयर लिन सक्नेछ ।

(७) यस दफाबमोजिम खनिज कार्य गर्ने अनुमति दिंदा विभागले खनिज कार्यको क्षेत्र अवधि र त्यस्तो खनिज कार्यमा नेपाल सरकार हिस्सेदार बन्ने भएमा तत्सम्बन्धी कुराहरुसमेत उल्लेख गर्नुपर्नेछ ।