नियम
खाता सञ्चालन तथा भुक्तानी आदेश प्रमाणित गर्ने
(१) सङ्घीय सञ्चित कोषबाट रकम भुक्तानी निकासा गर्ने प्रयोजनको लागि कोष तथा लेखा नियन्त्रक कार्यालयको नाममा खोलिने एकल खाताको सञ्चालन कोष तथा लेखा नियन्त्रक कार्यालयको प्रमुख वा निजले तोकेको सोही कार्यालयको एक जना कर्मचारी र निजले तोकेको सो कार्यालयका कर्मचारीहरू मध्ये अर्को एक जना कर्मचारीको संयुक्त दस्तखतबाट गर्नु पर्नेछ। तर त्यसरी कर्मचारी तोक्दा आन्तरिक लेखापरीक्षणको लागि तोकिएको कर्मचारीबाट खाता सञ्चालन गर्ने गरी तोक्नु हुँदैन।
(२) कार्यालयको विनियोजन,धरौटी तथा विविध रकम भुक्तानी निकासाको लागि भुक्तानी आदेश पठाउँदा वा नियम ६ बमोजिम कुनै कार्यालयको नाममा छुट्टै खाता खोलिएको रहेछ भने त्यस्तो खाताको सञ्चालन गर्दा सो कार्यालयको प्रमुख वा निजले तोकेको कर्मचारी र आर्थिक प्रशासन शाखाको प्रमुख वा निजले तोकेको लेखा समूहको कर्मचारीको संयुक्त दस्तखतबाट गर्नु पर्नेछ।
(३) उपनियम (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो भुक्तानी आदेश वा खाता सञ्चालनको लागि लेखा समूहको दरबन्दी रिक्त भएको वा दरबन्दी नरहेको अवस्थामा कार्यालय प्रमुख वा निजले तोकेको कर्मचारी र कोष तथा लेखा नियन्त्रक कार्यालयले तोकिदिएको लेखा समूहको कर्मचारीको संयुक्त दस्तखतबाट त्यस्तो खाताको सञ्चालन गर्न सकिनेछ।
(४) उपनियम (३) बमोजिम कोष तथा लेखा नियन्त्रक कार्यालयले लेखा समूहको कर्मचारी अभाव भई सो समूहको कर्मचारी तोक्न नसकेको अवस्थामा कार्यालय प्रमुख वा निजले तोकेको कर्मचारी र्‌ कोष तथा लेखा नियन्त्रक कार्यालयले तोकेको सम्बन्धित कार्यालयको अन्य कुनै कर्मचारीको संयुक्त दस्तखतबाट खाता सञ्चालन गर्नु पर्नेछ।
(५) उपनियम (१) बमोजिमको खाता सञ्चालनको लागि सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी र उपनियम (२) बमोजिमको खाता सञ्चालनको लागि सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयको प्रमुखले खाता सञ्चालन गर्ने कर्मचारीको दस्तखत नमूना प्रमाणित गर्नु पर्नेछ।
(६) प्रदेश र स्थानीय तहको कार्यालयको लागि बैङ्क खाता खोल्ने स्वीकृति महालेखा नियन्त्रक कार्यालयले दिनेछ। त्यस्तो खाता सञ्चालनको लागि प्रदेशको हकमा प्रदेश लेखा नियन्त्रक कार्यालयको प्रमुख र स्थानीय तहको हकमा सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयको प्रमुखले खाता सञ्चालन गर्ने कर्मचारीको दस्तखत नमूना प्रमाणित गर्नु पर्नेछ।
(७) यस नियममा उल्लिखित कुराको अतिरिक्त खाता सञ्चालन सम्बन्धी अन्य कार्यविधि महालेखा नियन्त्रक कार्यालयले निर्धारण गरे बमोजिम हुनेछ।