दफा २४
गिरफ्तार गर्ने अधिकार
: (१) यस ऐन बमोजिमको कुनै कसूरको अनुसन्धानको सिलसिलामा कुनै व्यक्तिलाई पक्राउ गर्नु पर्ने भएमा अनुसन्धान गर्ने अधिकारीले । कारण र त्यस्तो व्यक्तिको पहिचान खुल्ने विवरण सहित मुद्दा हेर्ने अधिकारी समक्ष पक्राउ गर्ने अनुमतिको लागि निवेदन दिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिमको निवेदनबाट पक्राउ गर्नु पर्ने कारण मनासिब देखिएमा मुद्दा हेर्ने अधिकारीले पक्राउ पूर्जी जारी गर्ने अनुमति दिन सक्नेछ ।

(३) उपदफा (२) बमोजिम पक्राउ पूर्जी जारी गरिएको व्यक्तिलाई प्रहरीले गिरफ्तार गरी बाटोको म्याद बाहेक चौबीस घण्टाभित्र मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराउनु पर्नेछ ।

(४) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसूर गर्ने व्यक्ति तत्काल पक्राउ नगरिएमा त्यस्तो व्यक्ति भाग्ने उम्कने वा निजले प्रमाण दसी वा सबुत नष्ट गर्ने मनासिब कारण भएमा वा कसूरसँग सम्बन्धित फरार रहेको व्यक्ति फेला परेमा वा कसूर गरिरहेको अवस्थामा फेला पारेमा अनुसन्धान अधिकारीले त्यस्तो व्यक्तिलाई तत्कालै जरुरी पक्राउ पूर्जी जारी गरी गिरफ्तार गरी मुद्दा हेर्ने अधिकारी समक्ष स्वीकृतिको लागि पक्राउ परेको व्यक्ति सहित उपस्थित गराउनु पर्नेछ ।

(५) उपदफा (३) र (४) बमोजिम गिरफ्तार गर्न लाग्दा वा गिरफ्तार गरिसकेपछि पनि छुटाई लैजान वा“ पक्रन नदिन कसूरदार वा निजको मद्दतगार कसैले हुलहुज्जत गरी भागी जाने वा भगाई लैजाने अवस्था परेमा वा पक्रनेकै ज्यान जोखिम हुने सम्भावना देखिई हतियार नचलाई नहुने अवस्था पर्न आएमा भरसक घुँडादेखि मुनि लाग्ने गरी सो पक्रन जाने कर्मचारीले गोली चलाउन सक्छ । सो बमोजिम गोली चलाउ“दा कसूरदार वा उसको मद्दतगार मर्न गएमा बात लाग्ने छैन ।”