दफा ३७
जडित समान
(१) धितोको हक जडित सामानमा सृजना गर्न सकिनेछ । धितोको हक सृजित मालसामान पछि जडित हुने सामान भएमा सोमा धितोको हक निरन्तर रहीरहनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सामान्य निर्माण सामग्रीहरुमा रहेको धितोको हक त्यस्ता सामग्रीहरु अचलसम्पत्तिमा समाविष्ट हुँदाका बखत समाप्त हुनेछ ।
(३) सजिलै हटाउन वा झिक्न सकिने कारखानाको मेशिन, कार्यालय मेशिन वा घरेलु उपयोगका मालसामानहरुको प्राथमिकता यस दफाबमोजिम निर्धारण गरिने छैन ।
(४) यस दफामा अन्यथा व्यवस्था गरिएकोमा बाहेक जडित सामानउपरको धितोको हक अचलसम्पत्तिमा रहेका अन्य सबै वास्तविक अधिकारहरुको अधीनस्थ हुनेछ ।
(५) अचलसम्पत्तिको स्वामी वा बन्धकी लिने व्यक्तिको हक प्रचलित कानूनबमोजिम दर्ता हुनुअगावै सूचना दर्ता गरिएमा जडित सामानमा रहेको परिपक्व धितोको हकले त्यस्तो अचलसम्पत्तिको स्वामीको हक वा बन्धकी लिखतमा जुनसुकै व्यवस्था गरिएको भए तापनि बन्धकी लिने व्यक्तिको हकउपर प्राथमिकता पाउनेछ ।
(६) यस ऐनबमोजिम दर्ता गराउनु पर्ने लियन होल्डरको हकको सूचना दर्ता गराउनुअगावै सूचना दर्ता गरिएमा जडित सामानमाथिको परिपक्व धितोको हकले लियन होल्डरको हकउपर प्राथमिकता पाउनेछ ।
(७) कुनै मालसामान जडित सामान हुनुअगावै धितो दिने व्यक्तिले दिएको धितोको हक खरिद मूल्यसम्बन्धी धितोको हक भएमा र त्यस्ता मालसामान जडित सामान हुनभन्दा अगावै वा जडित समान भईसकेको मितिले पाँच दिनभित्र सूचना दर्ता गरिएमा जडित सामानमा रहेको परिपक्व धितोको हकले अचलसम्पत्तिको स्वामीको, लियनहोल्डरको वा बन्धकी लिखतमा जुनसुकै व्यवस्था गरिएको भए तापनि बन्धकी लिने व्यक्तिको हकउपर प्राथमिकता पाउनेछ ।
तर यसरी निर्धारण गरिएको प्राथमिकता निर्माणसम्बन्धी बन्धकी हकमा लागू हुने छैन ।
स्पष्टिकरणः यस उपदफाको प्रयोजनको लागि “निर्माणसम्बन्धी बन्धकी” भन्नाले अचलसम्पत्तिमा गरिने निर्माण सुधारबापत भुक्तानी दिने कुनै पनि दायित्व सुरक्षित गर्ने गरी प्रचलित कानूनबमोजिम दर्ता गरिएको बन्धकी सम्झनु पर्छ ।
(८) सुरक्षित दायित्व परिपालन नभएमा यस दफाबमोजिमको प्राथमिकता प्राप्त गर्ने धितो लिने व्यक्तिले देहायका कुरामा देहायबमोजिम हुने गरी अचलसम्पत्तिबाट जडित सामान छुट्याई लैजान सक्नेछः–
(क) जडित सामान छुट्याई लैजाने धितो लिने व्यक्तिले अचलसम्पत्तिमा पुग्न गएको हानि नोक्सानीको मर्मत गर्न लाग्ने खर्च धितो दिने व्यक्तिबाहेकका अन्य बन्धकी लिने व्यक्तिलाई अविलम्ब शोधभर्ना गर्नु पर्ने,
(ख) धितो लिने व्यक्तिले छुट्याई लैजाने जडित सामानको अभावले वा त्यस्ता सामान विस्थापित गर्नु पर्ने आवश्यकताको कारणले त्यस्तो अचलसम्पत्तिको मूल्यमा हुन गएको कमीबापत त्यस्तो बन्धकी लिने व्यक्ति वा मालिकलाई रकम शोधभर्ना गर्नु पर्ने, र
(ग) धितो लिने व्यक्तिले शोधभर्ना गर्ने दायित्व पूरागर्ने पर्याप्त मात्रामा विश्वास दिलाउन नसकेसम्म शोधभर्ना प्राप्त गर्ने व्यक्तिले त्यस्तो जडित सामान छुटाई लैजाने अनुमति दिन इन्कार गर्न सक्ने ।