(१) ऐनको दफा ४ को उपदफा (१) बमोजिम जन्मको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिन चाहने सोह्र वर्ष उमेर पूरा भएको नेपाली नागरिकलेसम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष देहायका कागजात संलग्न राखी अनुसूची–१ बमोजिमको ढाँचामा निवेदन
दिनु पर्नेछ –
(क) निवेदकको जन्म नेपालभित्र भएको र निजले निरन्तर नेपालमा स्थायी रूपमा बसोबास गर्दै आएको व्यहोरा खुल्ने गरी
सम्बन्धित स्थानीय निकायले गरिदिएको सिफारिस,
(ख) आफ्नो वा परिवारको नामको जग्गाधनी दर्ता प्रमाणपूर्जा वा मोहीयानी हकको प्रमाणपत्र वा घरधुरी प्रमाण वा निर्वाचन
आयोगले तयार गरेको मतदाता नामावलीमा निजको वा निजको बाबु वा आमाको नाम समावेश भएको प्रमाण ।
स्पष्टीकरण :- यस खण्डको प्रयोजनको लागि “परिवार” भन्नाले एकाघरका वा छुट्टिई भिन्न बसेका बाबु, आमा, सौतेनी आमा,
छोरा, अविवाहिता छोरी र छोराबुहारीसमेतलाई सम्झनु पर्छ ।
(२) उपनियम (१) बमोजिम नागरिकताको प्रमाणपत्र प्राप्त गर्न चाहने व्यक्तिले संविधानसभाको निर्वाचन हुनुअगावै प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिमका प्रमाण निवेदनसाथ पेश गर्न नसक्ने व्यक्तिलाई ऐनको दफा ८ को उपदफा (४) बमोजिम देहायका कागजातका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र जारी गर्न सकिनेछ –
(क) निवेदक नेपालमा जन्म भई निरन्तर रूपमा नेपाल सरहदभित्र स्थायी रूपमा बसोबास गरी आएको व्यहोरा खुल्ने गरी स्थानीय
निकायका प्रतिनिधिको रोहबरमा अनुसूची–५ बमोजिमको ढाँचामा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त स्थानीय
बासिन्दाहरूले गरिदिएको स्थलगत सरजमिन,
(ख) सम्बन्धित वडामा बसोबास गर्ने नेपाली नागरिकताको प्रमाणपत्र
प्राप्त तीन जना नेपाली नागरिकले अनुसूची–६ बमोजिमको ढाँचामा सर्जमिनस्थलमै गरिदिएको सनाखत ।
तर नागरिकताको सिफारिस गर्ने वा नागरिकता प्रदान गर्ने
अधिकारीलाई सनाखत गर्ने व्यक्तिले शंकास्पद रूपमा सनाखत गरेको लागेमा त्यस्तो अधिकारीले त्यस उपर थप छानबिन गर्न
सक्नेछ ।
(४) ऐनको दफा ४ को उपदफा (३) बमोजिमको समयावधिभित्र प्राप्त भएका
निवेदनहरूका सम्बन्धमा त्यस्ता निवेदन दर्ता भएको मितिले एक महिनाभित्र प्रमुख जिल्ला अधिकारीले निर्णय गरिसक्नु पर्नेछ ।
(५) उपनियम (१) वा (३) बमोजिम प्राप्त निवेदनउपर छानबिन गर्दा निवेदक जन्मको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र पाउन योग्य देखिएमा निजलाई जन्मको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र जारी गर्न सकिनेछ ।
(६) उपनियम (३) बमोजिम नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न निवेदन दिने व्यक्तिहरूको सूची सोही दिन सार्वजनिक गर्नु पर्नेछ ।