दफा २४
जरिबाना गर्न सक्ने
: (१) दफा १० बमोजिम स्वीकृति नलिई कम्पनीको स्वामित्व वा दायित्व हस्तान्तरण वा परिवर्तन गर्ने इजाजतपत्रवालालाई विभागले पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।
(२) दफा १२ बमोजिमको शर्त पालना नगर्ने इजाजतपत्रवालालाई विभागले एक लाख रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।
(३) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत कुनै कार्य गर्ने वा विभागले दिएको आदेश वा निर्देशनको पालना नगर्ने इजाजतपत्रवाला तथा वस्तुको प्रत्यक्ष बिक्रेता वा वितरकलाई विभागले पाँच लाख रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।
(४) कुनै इजाजतपत्रवालाले मनासिब माफिकको कारण बाहेक दफा ४५ बमोजिम तोकिएको अवधिभित्र पेश गर्नु पर्ने प्रतिवेदन पेश नगरेमा वा दफा ४९ बमोजिम दिनु पर्ने जानकारी नदिएमा त्यस्तो इजाजतपत्रवालालाई विभागले प्रतिदिन एकसय रुपैयाँका दरले बढीमा दश हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।
(५) दफा ३१ को खण्ड (ख) र (ग) बमोजिम दिएको निर्देशन वा आदेश पालना नगरेमा त्यस्तो इजाजतपत्रवाला तथा वस्तुको प्रत्यक्ष बिक्रेता वा वितरकलाई अनुगमन समितिले एक लाख रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।
(६) वस्तुको प्रत्यक्ष बिक्री वा वितरण गर्ने स्थानमा निरीक्षण गर्दा वस्तुको मूल्य, गुणस्तर र परिमाणमा हेरफेर गरेको वा मूल्यसूची नराखेको पाएमा त्यस्तो इजाजतपत्रवाला, वस्तुको प्रत्यक्ष बिक्रेता वा वितरकलाई निरीक्षण अधिकृतले अवस्था हेरी पाँच हजार रुपैयाँदेखि पन्ध्र हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ । त्यस्तो कार्य पुन दोहोर्याएमा पटकैपिच्छे दोब्बर जरिबाना गर्न सक्नेछ ।