दफा ३५
जाँचबुझ गर्ने
(१) रोजगारदाता संस्थाले करारको दायित्व पूरा नगरेको वा इजाजतपत्रवालाले करारमा
उल्लिखित शर्त पूरा गराउन आवश्यक र उपयुक्त कारबाही नगरेको सम्बन्धमा कामदारको उजुरी
परेमा विभागले सो सम्बन्धमा आवश्यक जाँचबुझ गर्ने गराउनेछ ।
(२) उपदफा (१) बमोजिम गरिएको जाँचबुझबाट सम्बन्धित कामदारलाई स्वदेश फिर्ता गर्न
आवश्यक देखिएमा निजलाई स्वदेश फिर्ता गर्नको लागि चाहिने रकम उपलब्ध गराउन विभागले
इजाजतपत्रवालालाई आदेश दिनेछ ।
(३) उपदफा (२) बमोजिम विभागले दिएको आदेश बमोजिम त्यस्तो रकम उपलब्ध नगराएमा
दफा ११ बमोजिम इजाजतपत्रवालाले धरौटी राखेको रकमबाटै त्यस्तो कामदारलाई स्वदेश फिर्ता
गरिनेछ । यसरी धरौटी रकम खर्च गरिएकोमा सो रकम सोधभर्ना गर्न सम्बन्धित इजाजतपत्रवालालाई
यथाशक्य चाँडो सूचना दिनुपर्नेछ र इजाजतपत्रवालाले त्यस्तो सूचना प्राप्त गरेको पन्ध्र दिनभित्र सो
रकम धरौटीमा सोधभर्ना गर्नु पर्नेछ ।
(४) दफा ११ बमोजिम राखिएको धरौटी रकमबाट कामदारलाई स्वदेश फिर्ता गर्न लाग्ने खर्च
नपुग हुन आएमा त्यस्तो नपुग हुन आएको रकम विभागले तोकेको म्यादभित्र इजाजतपत्रवालाले
बुझाउनु पर्नेछ र त्यस्तो म्यादभित्र नबुझाएमा सो रकम सरकारी बाँकी सरह असूलउपर गरिनेछ ।