नियम १३
जाँचबुझ र निर्णय

(१) आयोगले राजनैतिक दलले पेश गरेको निवेदन उपर देहाय बमोजिम जाँचबुझ गरी दल दर्ता सम्बन्धी निर्णय गर्नु पर्नेछ ः–
(क) निवेदनमा खुलाउनु पर्ने कुरा खुलाए वा नखुलाएको,
(ख) दल दर्ता हुन आवश्यक शर्तहरू पूरा गरे वा नगरेको,
(ग) दल दर्ताको लागि राजनैतिक दलले पेश गरेको निवेदन र सो साथ संलग्न विवरण, कागजात पूरा भए वा नभएको ।
(२) उपनियम (१) बमोजिम निवेदन उपर जाँचबुझ गरी उपयुक्त देखिएमा त्यस्तो राजनैतिक दललाई आयोगले निर्वाचन प्रयोजनको लागि दर्ता गर्नु पर्नेछ ।
(३) आयोगले दर्ताको लागि प्राप्त भएको निवेदन, कागजात तथा विवरण पर्याप्त भएको नपाएमा निवेदन पेश गर्ने राजनैतिक दलसँग आवश्यक देखेको विषयमा थप जाँचबुझ गर्न वा आवश्यक देखेको कुरा बुझ्न सक्नेछ ।
(४) निवेदन पेश गर्ने राजनैतिक दल दर्ता हुन नसक्ने कारण र अवस्था देखिएमा आयोगले त्यस्तो दललाई प्रमाण सहित आफ्नो भनाइ पेश गर्न बढीमा सात दिनसम्मको समय दिनु पर्नेछ ।
(५) आयोगले भनाई पेश गर्न दिएको समयभित्र राजनैतिक दलले पेश गरेको भनाइ एवं संलग्न प्रमाणसमेतका आधारमा त्यस्तो दल दर्ता गर्ने वा नगर्ने निर्णय गर्नेछ ।
(६) आयोगले दिएको समयभित्र भनाइ पेश नगर्ने राजनैतिक दलले पछि आफ्नो भनाइ पेश गर्न पाउने छैन ।
(७) आयोगले दिएको समयभित्र कुनै राजनैतिक दलले भनाई पेश नगरेको कारणबाट निर्वाचन प्रयोजनको लागि त्यस्तो दल दर्ता गर्ने वा नगर्ने सम्बन्धमा निर्णय गर्न आयोगलाई बाधा पुगेको मानिने छैन ।
(८) आयोगले निर्वाचन प्रयोजनको लागि दर्ता गरेका राजनैतिक दलहरूको नाम नेपाल राजपत्रमा प्रकाशन गर्नेछ ।
(९) आयोगले निवेदन पेश गर्ने राजनैतिक दलको दर्ता नगरेमा त्यसको जानकारी सात दिनभित्र सम्बन्धित राजनैतिक दललाई दिनु पर्नेछ ।
(१०) राजनैतिक दल दर्ता गर्ने नगर्ने सम्बन्धमा आयोगले गरेको निर्णय अन्तिम हुनेछ ।