नियम १८
जिल्ला शिक्षा समितिको काम, कर्तव्य र अधिकार
ऐनमा लेखिए देखि बाहेक जिल्ला शिक्षा समितिको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) स्वीकृत शैक्षिक योजना अनुरुप विद्यालयको शैक्षिक कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गराउने,
(ख) जिल्लामा स्वस्थ शैक्षिक वातावरण कायम राख्न तथा शिक्षाको गुणस्तर बृद्धि गर्न व्यवस्थापन समिति मार्फत शैक्षिक कार्यक्रम कार्यान्वयन गराउने,
(ग) नेपाल सरकारको स्वीकृत नीति र निर्देशन अनुरुप अनौपचारिक शिक्षा कार्यक्रम सञ्चालन सम्बन्धी आवश्यक व्यवस्था गर्ने,
(घ) विद्यालयलाई आर्थिक सहायता उपलव्ध गराउने तथा त्यस्तो सहायताको लागि सम्बन्धित निकायमा सिफारिस गर्ने,
(ङ) शिक्षक तथा विद्यार्थी कल्याणको लागि आवश्यक कार्यक्रम बनाउने,
(च) विद्यालयको सम्पत्तिको सुरक्षा गर्न तथा विद्यालयको समृद्धिको लागि आवश्यक व्यवस्था गर्ने,
(छ) जिल्लास्तरमा शिक्षा सम्बन्धी विषयमा सेमिनार, सम्मेलन वा प्रदर्शनीको आयोजना गर्ने,
(ज) विद्यालयको विकासको लागि सञ्चालित शैक्षिक कार्यक्रमलाई सहयोग गर्ने,
(झ) विद्यालयको लेखापरीक्षण सम्बन्धमा लेखापरीक्षकले दिएको प्रतिवेदन अनुसार आवश्यक कारबाही गर्ने गराउने,
(ञ) विद्यालयलाई आर्थिक रुपमा आत्मनिर्भर गराउन प्रयत्न गर्ने,
(ट) विद्यालय बन्द गर्ने सम्बन्धमा स्वीकृति दिने,
(ठ) शैक्षिक क्यालेण्डर बनाई विद्यालय सञ्चालन गर्न गाउँ शिक्षा समिति र व्यवस्थापन समितिलाई निर्देशन दिने,
(ड) जिल्लास्तरीय खेलकूद, स्काउट तथा सा“स्कृतिक कार्यक्रमको सञ्चालन तथा विकासको लागि आर्थिक स्रोत जुटाउने र प्राप्त रकम खर्च गर्ने ।