दफा १८
टेलिफोन वा सञ्चारको विवरण माग गर्न सकिने
: (१) कुनै व्यक्तिले सङ्गठित अपराध गर्ने सिलसिलामा कम्प्यूटर, टेलिफोन, मोबाइल फोन वा अन्य कुनै प्रकारको दूरसञ्चार माध्यमको प्रयोग गरेको वा विद्युतीय वा अन्य कुनै सञ्चार माध्यमबाट कुनै प्रकारको सूचना आदान प्रदान गरेको पाइएमा अनुसन्धान अधिकारीले अधिकारप्राप्त अधिकारीको अनुमति लिई त्यस्तो कम्प्यूटर, टेलिफोन, मोबाइल फोन वा दूरसञ्चार माध्यम वा सोबाट भएको दूरसञ्चार सम्बन्धी विवरण वा सूचना उपलब्ध गराई दिन
सम्बन्धित अधिकारी, निकाय वा सेवा प्रदायकलाई आदेश दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम आदेश भएकोमा त्यस्तो अधिकारी, निकाय वा सेवा प्रदायकले त्यस्तो टेलिफोन, मोबाइल फोन वा दूरसञ्चार माध्यम वा सो बाट भएको सञ्चार सम्बन्धी विवरण वा सूचना उपलब्ध गराउनु पर्नेछ ।