दफा
ट्रष्टको स्थापना

(१) राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजहरुको परिवारको नाममा रहेको सम्पत्ति यो ऐन प्रारम्भ भएपछि व्यवस्थापन र सञ्चालन गरी राष्ट्रहितमा  प्रयोग गर्न नेपाल ट्रष्ट नामको एक ट्रष्ट स्थापना हुनेछ  ।

स्पष्टीकरण ः  यस ऐनको प्रयोजनका लागि परिवारभन्नाले राजा वीरेन्द्र र रानी ऐश्वर्यका जेठा छोरा दीपेन्द्र शाह र कान्छा छोरा निराजन शाहलाई सम्झनु पर्छ ।

(२) ट्रष्ट एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र सङ्गठित संस्था हुनेछ । 

(३) ट्रष्टले व्यक्ति सरह चल अचल सम्पत्ति प्राप्त गर्न भोगचलन गर्न, बेचबिखन गर्न वा अन्य कुनै किसिमले व्यवस्थापन गर्न सक्नेछ । 

(४) ट्रष्टले व्यक्ति सरह नालिस उजुर गर्न सक्नेछ र ट्रष्टउपर पनि सोही नामबाट नालिस उजुर गर्न सकिनेछ । 

(५) ट्रष्टले व्यक्ति सरह करार गर्न र करार बमोजिमको अधिकार प्रयोग गर्न र दायित्व निर्वाह गर्न सक्नेछ । 

(६) ट्रष्टको काम कारबाहीका लागि छुट्टै छाप हुनेछ र त्यस्तो छाप समितिले निर्धारण गरे बमोजिम हुनेछ ।