दफा
दल दर्ता हुन नसक्ने
(१) दफा ५ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कुनै अवस्थामा दल दर्ता हुन सक्ने छैनः-
(क) दलले संविधानको धारा २६९ को उपधारा (४) बमोजिमको शर्त पुरा नगरेको भएमा,
(ख) दलको नाम, उद्देश्य, चिन्ह, झण्डा, विधान, नियमावली तथा काम, कारबाही संविधानको धारा २६९ को उपधारा (५), धारा २७० को उपधारा (२) तथा यस ऐन प्रतिकूल हुने भएमा,
(ग) दलको सदस्यता प्राप्त गर्न नेपालका नागरिकलाई धर्म, जात, जाति, सम्प्रदाय, भाषा वा लिङ्गको आधारमा बन्देज लगाइएको, बञ्चित गरेको वा विभेद गरेको देखिएमा,
(घ) दलको विधानमा दफा ८ को उपदफा (२) बमोजिम उल्लेख हुनु पर्ने कुरा उल्लेख नभएमा,
(ङ) दलको नाम वा चिन्ह आयोगमा दर्ता कायम रहेको दलको नाम वा चिन्हसँग मिल्ने भएमा,
(च) दलको नाम, उद्देश्य, चिन्ह वा झण्डा नेपालको धार्मिक वा साम्प्रदायिक एकतालाई खलल पार्ने वा विखण्डित गर्ने प्रकृतिको भएमा वा सार्वजनिक नैतिकता प्रतिकूल हुने भएमा,
(छ) दफा ५ को उपदफा (३) बमोजिम आयोगले माग गरेको विवरण वा कागजात उपलब्ध नगराएमा वा पदाधिकारी वा सदस्यको हस्ताक्षर सनाखत हुन नसकेमा ।
(२) उपदफा (१) बमोजिमको कुनै कारणबाट दल दर्ता गर्न नसकिने भएमा आयोगले त्यसको कारण खुलाई पन्ध्र दिनभित्र दल दर्ताको लागि सुधारसहितको विवरण आयोगमा पेश गर्न सम्बन्धित निवेदकलाई सूचना दिन सक्नेछ ।
(३) उपदफा (२) बमोजिमको अवधिभित्र त्यस्तो विवरण प्राप्त भएमा र आयोग त्यसमा सन्तुष्ट भएमा आयोगले दफा ५ को उपदफा (४) बमोजिम दल दर्ता गरी निवेदकलाई त्यसको प्रमाणपत्र दिनेछ र दल दर्ता हुन नसक्ने भएमा त्यसको कारण खुलाई निवेदकलाई जानकारी दिनेछ।