नियम ११
दलको दर्ता खारेज
(१) ऐनको दफा १२ को उपदफा (१) बमोजिम कुनै दलले आफ्नो दलको दर्ता खारेज गर्नको लागि त्यस्तो दलको केन्द्रीय समितिले गरेको निर्णय बमोजिम दलको प्रमुख पदाधिकारीले देहाय बमोजिमका कागजात संलग्न गरी आयोग समक्ष अनुसूची– १० बमोजिम निवेदन दिन सक्नेछ ः–
(क) दलको विधान,
(ख) दल दर्ता खारेज गर्ने गरी केन्द्रीय समितिले गरेको निर्णयको प्रतिलिपि,
(ग) आयोगमा बुझाउन बाँकी लेखा परीक्षण प्रतिवेदन,
(घ) निवेदन दिनु अघि कायम रहेको दलको चल, अचल सम्पत्ति तथा दायित्व सम्बन्धी विवरण,
(ङ) आयोगले तोकेको अन्य विवरण ।
(२) उपनियम (१) बमोजिम दलको दर्ता खारेज गर्नका लागि निवेदन परेमा आयोगले सो सम्बन्धमा आवश्यक जाँचबुझ गर्नेछ ।
(३) उपनियम (२) बमोजिम जाँचबुझ गर्नको लागि आयोगले आवश्यकता अनुसार आयोगको कुनै पदाधिकारी वा कर्मचारीलाई तोक्न सक्नेछ । यसरी तोकिएको पदाधिकारी वा कर्मचारीले आपूmले गरेको जाँचबुझको प्रतिवेदन आयोग समक्ष पेश गर्नु पर्नेछ ।
(४) उपनियम (२) वा (३) बमोजिम जाँचबुझ गर्दा आवश्यकता अनुसार केन्द्रीय समितिको निर्णयमा हस्ताक्षर गर्ने त्यस्तो समितिका पदाधिकारी वा सदस्यलाई आयोगमा उपस्थित हुन लगाई अनुसूची–११ बमोजिम सनाखत गराउन सकिनेछ ।
(५) यस नियम बमोजिम जाँचबुझ गर्दा दल खारेज गर्ने सम्बन्धमा दलको केन्द्रीय समितिबाट निर्णय भएको कुरामा आयोग विश्वस्त भएमा त्यस्तो दलको दर्ता खारेज गर्नेछ ।
(६) दलले ऐनको दफा १२ को उपदफा (३) मा उल्लिखित काम, कारबाही गरेको कुरा आयोगले जुनसुकै माध्यमबाट प्राप्त गरेमा सो सम्बन्धमा आवश्यक जाँचबुझ गर्न सक्नेछ ।
(७) उपनियम (६) बमोजिम जाँचबुझ गर्दा आयोगले त्यस्तो दललाई पन्ध्र दिनको म्याद दिई सफाई पेश गर्न मौका दिनु पर्नेछ ।
(८) दलले उपनियम (७) बमोजिमको अवधिभित्र सफाई पेश नगरेमा वा पेश गरेको सफाई सन्तोषजनक नभएमा आयोगले सोको पन्ध्र दिनभित्र दलको दर्ता खारेज गर्ने निर्णय गर्नेछ
(९) उपनियम (५) र (८) बमोजिम दलको दर्ता खारेज भएको विवरण नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ ।