दफा ५७
दायित्वको भुक्तानी क्रम
: (१) लिक्विडेटरले खारेजीमा परेको कम्पनीको दायित्व यस ऐनबमोजिम फछ्र्यौट गर्दा उपलब्ध रकमलाई देहायबमोजिमको प्राथमिकताका आधारमा दायित्वको भुक्तानी गर्नु पर्नेछ ः-
(क) दफा ११ को उपदफा (४) बमोजिम नियुक्त अन्तरिम प्रशासकले सम्पादन गरेको कार्यसँग सम्बन्धित सम्पूर्ण खर्च तथा पारिश्रमिक,
(ख) परिच्छेद–२ बमोजिम फछ्र्यौट गर्नु पर्ने अन्य रकमहरू,
(ग) दफा १० को उपदफा (३) र (४) बमोजिम नियुक्त जाँचबुझ अधिकारीले सम्पादन गरेको कार्यसँग सम्बन्धित सम्पूर्ण खर्च तथा पारिश्रमिक,
(घ) दफा २२ को उपदफा (२) बमोजिम नियुक्त पुनर्संरचना व्यवस्थापकले सम्पादन गरेको कार्यसँग सम्बन्धित सम्पूर्ण खर्च तथा पारिश्रमिक,
(ङ) दामासाहीको कारबाहीको जाँचबुझ अवधिमा लिइएको कम्पनीका सम्पूर्ण ऋण,
(च) कम्पनीको पुनर्संरचना कार्यक्रम अवधिमा लिइएको कम्पनीको सम्पूर्ण ऋण,
(छ) दफा ३७ को उपदफा (१) बमोजिम नियुक्त लिक्विडेटरले सम्पादन गरेको कार्यसँग सम्बन्धित खर्च तथा पारिश्रमिक,
(ज) यस ऐनबमोजिम कम्पनी खारेज गर्ने वा पुनर्संरचना गर्ने आदेश भएका
बखत कम्पनीका कामदार वा कर्मचारीलाई दिन बाँकी रहेको ज्याला तथा पारिश्रमिकको रकम,
तर कम्पनीको सञ्चालकले त्यस्तो रकम पाउने छैन ।
(झ) कम्पनी खारेज गर्ने वा पुनर्संरचना गर्ने आदेश भएका बखत कम्पनीका कामदार वा कर्मचारीलाई दिन बाँकी रहेको घर विदाको रकम, विरामी विदाको रकम, उपदानबापतको रकम र कर्मचारी संचयकोषको सुविधा भए सोबापतको रकम,
तर कम्पनीको सञ्चालकले त्यस्तो रकम पाउने छैन ।
(ञ) लिक्विडेटरले स्वीकार गरेका ऋण दाबीबापतको अन्य सम्पूर्ण रकम ।
(२) उपदफा (१) बमोजिमको प्राथमिकता क्रममा पर्ने प्रत्येक दायित्वलाई समानरूपमा व्यवहार गर्नु पर्नेछ र त्यस्तो क्रममा परेका सम्पूर्ण दायित्व पूरा फछ्र्योट गर्नु पर्नेछ ।
तर त्यस्तो दायित्व पूरा फछ्र्यौट गर्न नपुग्ने भएमा समानुपातिक हिसाबमा फछ्र्यौट गर्नु पर्नेछ ।
(३) कम्पनीको कुनै दायित्व बीमा गरिएको भएमा यस्तो बीमा करारअन्तर्गतको रकम हक पुग्ने व्यक्तिलाई भुक्तानी गर्नु पर्नेछ ।
(४) उपदफा (१), (२) वा (३) बमोजिमको दायित्वको पूरा फछ्र्यौट भएमा बाँकी रहेको रकमबाट लिक्विडेटरले कम्पनी खारेज गर्ने वा पुनर्संरचना गर्ने आदेश भएको मितिदेखि ऋण दाबी स्वीकार गरिएको मितिसम्मको ऋणमा लाग्ने ब्याज चुक्ता गर्नु पर्नेछ र सो चुक्ता भै बाँकी रहेको रकम कम्पनीका अग्राधिकार शेयरधनीहरूलाई वितरण गरी बाँकी रहेको रकम अन्य शेयरधनीहरूलाई समानुपातिक हिसाबमा वितरण गरिनेछ ।